Thursday, January 28, 2016

Shree Swasthani Brata Katha Episode 29 (एकोनत्रिंंशोऽध्याय: चन्द्रावती स्वगृह प्रवेश वर्णन)

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

एकोनत्रिंंशोऽध्याय: चन्द्रावती स्वगृह प्रवेश वर्णन

श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
चन्द्रावतीले श्रद्धा भक्तिपूर्वक शाली नदीमा बगाई दिएका तीन आठ रोटी मध्ये चार रोटी कुनै एउटी नागिनीले पाईन् र ” यस्तो अपूर्व र सुगन्धित रोटी कसले कहाँबाट बगाएछन् । मेरा स्वामी घरबाट बाहिर गएको बाह्रवर्ष भैसके, कता जानु भयो कता ? कुनै खबर छैन । वहाँलाई पहिले नखुवाई यस्ता सुन्दर र अपूर्व रोटी म एक्लै कसरी आऊँ ? बरु खोजी गर्न जान्छु । भेट भएमा दुई–दुई रोटी बाँडेर खाउँला ” भन्ने सम्झिएर शाली नदीका किनारै किनार जान लागिन् । ती आठ रोटी मध्ये चार रोटी चाँही उता नागले पनि प्राप्त गरे र “ओ हो ! कति राम्रा र मीठो बास्ना चल्ने रोटी पाएँ, यी रोटी यहाँ कसले बगाएथे र आईपुगे । मैले घर छोडेको पनि बाह्र वर्ष भयो । मेरी पत्नीलाई नखुवाई यी रोटी एक्लै कसरी खाऊँ ! अब झट्टै घर पुग्छु र दुई–दुई वटा बाँडी खाउँला भनी आफू रहेको गण्डकी नदीका किनारै किनार भई नाग पनि घरतिर लागे । यसरी दुवैतिर बाट आउँदा–आउँदै शाली नदी र गण्डकीका संगममा श्री स्वस्थानी परमेश्वरीका कृपाले ती दुवै नाग–नागिनीको भेट भयो ।

अति हर्ष मान्दै नागिनीले — “हे पतिदेव  ! यत्तिका वर्षसम्म मलाई घरमा एक्लै छाडी यति साह्रो निष्ठूरी भएर कहाँ गइबक्सिएको थियो ? मेरा भाग्यले आज मात्र हजूरको दर्शन पाउन सकें । कसैले बगाएर पठाएका यी अपूर्व चार रोटी मैलै पाएकी छु । हजुरलाई नखुवाई एक्लै खान मन लागेन र हजूरको खोजी गर्दै घर छोडेर आएँ । दैव संयोगले भेट भयो । लो खाइबक्सियोस् भनी चार रोटीमा दुई रोटी पतिलाई दिँदी भइन् । ती रोटी देखेर नागले पनि – “हे प्रिये ! तिमीले जस्तै मैले पनि चार रोटी पाएको छु, लौ खाऊँ ” भनी आफूले पाएका चार रोटीमा दुई रोटी नागिनीलाई दिए ।

 यसरी ती दुवै नाग दम्पत्तिले चार–चार रोटी खाई सकेपछि नागले नागिनीसित भने —“ हे अर्धाङ्गिनी ! बाह्र वर्षसम्म हाम्रो भेट नहुनु र आज यिनै रोटीका कारणले भेट हुनुले हामीले खाएका रोटीमा कुनै ठूलो महिमा लुकेको हुनुपर्छ । जसद्वारा यी आठ रोटी बगाएर पठाइएको हो, भोलिकै दिनमा तिनका सबै इच्छाहरु सिद्धि होउन् । लक्ष्मीले दृष्टि दिउन् अनि रोग, शोक हटेर जाउन् । शरीरभित्र र बाहिर रहेका सबै शत्रु नाश होउन् ” भन्ने धेरै आशीर्वाद पनि दिए । यी कुरा सुनी नागिनीले पनि भनिन् —“हे प्राणनाथ ! म पनि उहाँलाई आशीर्वाद दिन्छु । आदित्यादि नवग्रहले उहाँका सम्पूर्ण पीडा शान्त गरुन । भूत, प्रेत, पिचाश, राक्षस , आदिले पनि कुनै पीडा गर्न नसकुन् । राज्यलक्ष्मी उहाँका वशमा रहुन् । हामी पति–पत्नी झैं विछोड हुन गएका भए चाडै शहाँहरुको पनि भेट होस् । ” यी आशीर्वाद दिएर दुवै नाग –नागिनी आफ्ना घर गए ।

 हे अगस्त्य मुनि ! उता लावण्य देशका वासीहरु शाली नदीमा स्नान गर्न दिनहुँ जान्थे । एक दिन त अत्यन्त दिव्यरुपले धप्–धप् बलेझैं देखिने, जिउ डाल मिलेकी, वस्त्र र आभूषणले शोभायमान भएकी एक्लै बसिरहेकी चन्द्रवतीलाई नदी किनारमा देखेर ती स्नानार्थीहरुले सोधे — हे सुन्दरी ! तिमी देवकन्या, नागकन्या, विद्याधर कन्या, किन्नर कन्या मध्येकी को हौ ? कतै  तिमी स्वर्गकी अप्सराहरु उर्वशी , रम्भा, तिलोत्तमा मध्येकी एउटी त होइनौ ? यहाँ यसरी एक्लै किन बसीरहेकी छौ ?”

ती स्नानर्थीहरुका कुरा सुनी चन्द्रावतीले भनिन् —“हे लोक हो ! तपाईहरुले सोध्नुभएको मध्ये म कोही पनि होइन । म ता वरुणपुरका अग्नि स्वामी ब्राम्हाणकी पुत्री गोमा ब्राम्हाणीका पुत्र नवराजकी स्त्री हुँ । मेरा नाउँ चन्द्रावती हो । स्वर्गका अप्सराहरु यहाँ आई यी शाली नदीका तीरमा श्री स्वस्थानी परमेश्वरीका पूजा गरेका थिए र मैले पनि उनीहरुकै उपदेशद्वारा उनकै संसर्गमा श्री स्वस्थानी परमेश्वरीको पूजा गरी रातभर जाग्राम बसी अहिले स्नान गर्न निस्किएकी हुँ” । ती अनुपम सुन्दरी स्त्रीका कुरा सुनी लोकले आश्चर्य मानी भने — “ हे देवी ! गोमा पुत्र नवराज ता हाम्रा राज भै बक्सिएको छ ।” अनि  “वहाँ गएर छिटो विन्ति गरौं” भन्ने सल्लाह गरी राजासमक्ष पुगी शाली नदीका तीरमा रहेकी दिव्यरुपा नारी र उनले भनेका कुरा जाहेर गर्दा भए ।

तिनीहरुका कुरा सुनी राजा नवराजले चन्द्रावतीलाई सम्झँदै भेटेर आउने प्रजाहरुलाई भने —“ हे पियारी प्रजाहरु हो ! तिमीहरुले साँचो कुरा गर्दैछौं । ती चन्द्रावती नाम गरेकी मेरी पत्नी हुन् । राज्यको काजले गर्दा बाहिर राखेको थिएँ । अब तिमीहरुले गई लिएर आओ ।” यति भनेपछि मन्त्रीलाई डाकेर अह्राए —“ हे मन्त्री ! मेरी धर्मपत्नी चन्द्रावती शाली नदीका तीरमा आई बसेकी रहिछन् । तिमीले नाना वस्त्र अलङ्कार र डोली सहित प्रजाहरुका फौज साथ गरी उनलाई लिन त्यहाँ जाऊ, म पनि केही परसम्म आउँला ।” राजाको हुकूम पाएपछि शहरमा झ्याली पिटाई, बाजा–गाजा  र फौज अघि–अघि, प्रजाहरु पछि–पछि लगाई चन्द्रावतीलाई लिन ठूलो लावा लश्करका साथ राज्यमन्त्री शाली नदीका किनारामा पुगे ।

चन्द्रावतीका छेउमा पुगी प्रणाम गरी उनीहरुले ” हे महारानी ! नवराज राजाले हजूरलाई ल्याउन हुकुम बक्सिएकोले हामी आएका हौं । यी वस्त्र र अलंकार पहिरिएर डोलीमा चढिबक्सियोस्” भने चन्द्रावतीले पनि — “हे स्वस्थानी परमेश्वरी ! मेरा स्वामी नवराजसित चाँडै भेट होस् भनी हिजो ब्रत गरेथें, आज प्रत्यक्ष दर्शन पाउने भएँ, भनी गद्गद् मनले श्री स्वस्थानी परमेश्वरीलाई बार–बार प्रणाम गर्दै प्रार्थना पनि गर्न लागिन् — “हे करुणमयी ! हे लोकेश्वरी ! हे परब्रम्हस्वरुपिणी ! हे जगन्माता ! हे श्री स्वस्थानी परमात्मा ! दुःखका सागरमा डुबिरहेकी यो पापिनीलाई उद्धार गरी लावण्य देशकी रानी बनाई दिनुभयो । म अनाथमाथि हजूरको सुदृष्टि पर्न गयो । हे सर्वशक्ति सम्पन्न परमेश्वरी ! मेरो कोटी–कोटी नमस्कार छ,” भनी मनमा ठूलो आनन्द मानी वस्त्र र अलंकार पहिरी डोलीभित्र बसी अघि–अघि फौज र पछि –पछि प्रजाहरु लगाई नानाथरीका बाजा–गाजाका साथ चन्द्रावती लावण्य देशतिर गइन् ।

चन्द्रावती रानीलाई लिन गएको फौज र प्रजाहरुको लाव लश्कर शहरको छेउमा आई पुग्न लागेको खबर सुनी त्यहाँका नर–नारीहरुले हेर्न भनी हतारहतार गरी बाहिर निस्कँदा कसैले पस्किएको खाना नखाई दगुरे, कोही खाँदा–खाँदै न चुठिकन कुदे, कोही छोराछोरी रुवाउँदै छोडेर र कोही छोराछोरी बोकेर दैलाबाट नै हाम फाल्दै दौडे । नवराज राजाले पनि आफ्नी धर्मपत्नी चन्द्रावती आई पुग्नै लागेको खबर सुनी केही वरसम्म आई  उनलाई नाना मङ्गल–यात्रा गरी  हर्ष बढाइँ गर्दै दरबार भित्र लग्दा भए ।
आगौं कथा अर्को अध्यायमा सुनाउँला ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्री चन्द्रावती स्वगृहप्रवेशोनाम एकोनत्रिंशोऽध्याय ः ।। २९ ।।

श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
         गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
        यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
        बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
        नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

No comments:

Post a Comment