Thursday, January 28, 2016

Shree Swasthani Brata Katha Episode 24 (चतुर्विंंशोऽध्याय:नवराजवरदानप्राप्तिवर्णन)

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।


श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !


उता ती गोमा हातमा धागाको लरिया लिई चन्द्रज्योति नगरको कुनै एक बरहीका घरमा गएर खुशी हुँदै हतार साथ भन्न लागिन्—“आज मेरा घरमा सप्तऋषि आउनुभएको छ । वहाँहरुलाई खान दिनका निम्ति यो धागाको लरियाको सट्टामा सात खिल्ली पान देऊ, धागो थोरै भए अरु ल्याएर थपिदिउँला । यो कुरा सुनी पानवाला बरहीले भन्यो —“हे ब्राम्हाणी ! पान ता सकिएको वेला पर्याे, भए जति अघि नै बेचिसकें, न पत्याए, लौ भाँडो नै हेर्नुहोस्” भनी छोपी राखेको डालो उघार्याे तर पानले भरिई राखेको डालो देखेर बरही आश्चर्यमा पर्दै गोमातर्फ हेरेर बोल्यो—“हे ब्राम्हाणी ! तपाईलाई छलेर ढाँटे जस्तो भयो । मैले ता यसमा भएको सबै पान पहिले नै बेची सकेर भाँडो थन्क्याएको थिएँ, अहिले यत्रो पानको थाक कताबाट आयो ? तिमीले आफ्ना घरमा सप्तऋषि आउनु भएको र वहाँहरुलाई सत्कार गर्नका निम्ति मागेको हुनाले नै यो आश्चर्य हुन गएको हो ” भनी, शर्म मान्दै तिमी धन्य रहिछौ । मलाई धागो चाहिँदैन, म पान बनाई दिन्छु झट्टै लगेर ऋषिहरुलाई आतिथ्य सत्कार गर, भनी कत्था, चूना, ल्वाङ, सुपारी र मीठो मसाला लगाई गोमाका हातमा दियो ।

 बरहीबाट पाएको पान लिई खुशीले आकुल हुँदै गोमा आफ्ना घरमा आई पुगिन् तर त्यहाँ सप्तऋषिहरुलाई नदेख्ता ठूलो विस्मातमा परिन् । “ मेरो जन्म धिक्कार रहेछ, त्यस्ता पूजनीय सप्तऋषि जस्ता अतिथिलाई आफ्ना हातले पान मात्र दिएर भए पनि सत्कार गर्न पाइँन । यस्ती दुःखीका झुप्रामा के बस्नु भनी म न आईपुग्दै गै गएछन्” भनी धेरै बेरसम्म अनेक कुरा तर्कना गरी झोक्रिई रहिन् । त्यसपछि घर कसिंगर गर्न भनी हातमा कुचो लिई बढार्न खोज्दा ऋषिहरु बसेका प्रत्येक आसनमुनि एक–एकवटा सुनका कौडी देखिन् र ती सातै ओटा सुनका कौडी बेची ऋषिहरुको अनुग्रह बुझी उनीहरुले अर्ती गरे बमोजिम बताउका विधिले वर्ष दिन पछि घुमिफिरी आएको पौषशुक्ल पूर्णिमाको पवित्र दिनदेखि श्री स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गरिन् । नित्य मध्यान्हकालमा बालुवाको शिवलिङ्ग र श्री स्वस्थानी परमेश्वरीको पूजा गरिसकेपछि कथा पढ्न लागिन् । कथा सुनिदिने आफू बाहेक अरु कोही नहुनाले आफ्नो ओछ््यान, एेंटो, धनुका सम्मुख रही सुनाउन लागी । चन्द्रज्योति नगरका गोठाला केटाकेटीले गोमाले एक्लै बोलेको सुनी झुपडीको भित्तो उधारी चियाएर भने—“हे गोमा ब्राम्हाणी ! किन यसरी एक्लै कराई रहेकी ? के भयो ?” भनी सोधे । तब गोमाले प्रशन्न मुद्रा लिएर भनिन्—“हे नानी हो ! मेरा घरमा स्वर्गबाट सप्तऋषि आई श्री स्वस्थानी परमेश्वरीको व्रत गर भनी उपदेश गर्नु भएको हुनाले त्यही व्रत गरी उनकै महिमा र कथा भनेकी हुँ । सुनिदिने आफू बाहेक अर्को न भएकोले आफ्नै ओछ्याउन, ऐंटो, चर्खा, धनु आदिलाई सामुमा पारी सुनाएको हुँ” ।

गोमाले भनेको यी वचनलाई सुनी ती केटाकेटीहरुले आफूलाई दिउँसोका लागि ल्याएको खाजा गोमालाई दिन लागे र सधैं त्यसै गरी आई कथा सुनी जो सकेको अन्न आदि दिन थाले । गोमाले पनि श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले गोठाला केटाकेटी द्वारा आफूलाई ठूलो कल्याण भएको मान्न थालिन् । गोमालाई पनि अन्न, वस्त्र, द्रव्य आदिको अभाव टर्दै गयो । जब महिना दिनपछि माघ शुक्ल पूर्णिमाको दिन आयो तब गोमाले सम्पूर्ण सामाग्री तयार गरी एकाग्र चित्तले भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा गरी ध्यान गरी हातमा अधर््यपात्र लिई—“हे श्री स्वस्थानी परमेश्वरी ! मलाई यी दुःखका सागरबाट पार लगाउनुहोस् । आफ्ना पिताको खोजिमा गएको मेरो पुत्र नवराज चाँडो आइपुगोस् । म बालिका अवस्था नै हुँदा मलाई श्री महादेवले भिक्षुक रुपमा आएर दिएको श्राप हटाई मेरो एकमात्र पुत्र नवराजलाई सुखले परिपूर्ण गराईदिनुहोस् । यो लोक र परलोकमा समेत तपाईको भक्ति मेरा ह्रदयमा नटुटोस् । हे जगदीश्वर ! यो ब्राम्हाण्डमा सृष्टि, स्थिति र संहारकर्ता भएकी ब्रम्हा, बिष्णु र महेश्वर स्वरुपिणी शक्ति आदि र अन्त्यले रहि यस्ती  परमात्मा रुवरुप तपाईलाई कोटी–कोटी नमस्कार । हे महेश्वरी ! तपाईका महिमाको वर्णन गर्न हजार जिव्रा भएका शेषनाग र सरस्वतीले पनि सकेका छैनन् भने म कसरी सकुँली ? मैले जानी–नजानी जो जस्तो तपाईको पूजा र स्तुति गरें तापनि मदेखि सन्तुष्ट हुनुहोस् ।”भनेर अध्र्य चढाईन् । त्यसपछि दण्डवत् प्रणाम गरेर चढाएका प्रसाद झिकिन । चढाइएका प्रसाद र अरु उपचारमा प्रत्येकका एकशय आठमाआठ रोटी, आठ अक्षता, आठ बेलीपुष्प, आठ जनै, आठ सुत्र, आठ कुड्का सुपार, आठ पान, आठ बाती, आठ फल, आठ बिल्वपत्र र सुगन समेत अलग पारी यो मेरो छोरो नवराजको भाग भनी पर सारिन् र प्रत्येक नैवेद्य र अन्य सामाग्रीहरुकाम एकशय चैं आफ्ना निम्ति राखिन् र ती मध्ये केही ग्रहण गरिन् र त्यो रात्रिमा श्री स्वस्थानी परमेश्वरीको भजन, कीर्तन गरी जाग्राम बसी नाच–गान पनि गरिन् ।

 रात निकै बितेको थियो, बाहिरबाट “माताजी !” भनी बोलाएको आफ्नै पुत्र नवराजको जस्तो स्वर सुनिन् र श्री स्वस्थानी परमेश्वरीका कृपाले मेरो पुत्र अवश्य आईपुगेछ भनी गोमा ब्राम्हाणी उठेर हतार–हतार बाहिर आईन । नवराजलाई देखेर हर्षाश्रु झार्दै छोरालाई हातमा समातेर भित्र लगिन् र पिरामा बसाई बडो प्रेमसित एक हातले छोराको शिर सुम्सुम्याउँदै सोध्न लागिन् — “हे पुत्र ! तँलाई सञ्चै छ ? अनि पिताको खबर कतै पाईयो कि के भो ? यतिका दिन कहाँ–कहाँ गइस् ?” आमाका प्रश्न सुनिसकेपछि नवराजले पनि घरबाट हिडेका दिनदेखिका सबै वृत्तान्त सुनाए ।

आफ्ना स्वामीका निधन भएको कुराले गोमालाई ठूलो चोट प¥यो । उनले आफ्ना निधारमा हात बजार्दै अनेक बिलौना गर्न लागिन् । निर्विवेकी विधाताले सात वर्षका उमेरमा सत्तरी वर्षका वृद्धसंग विवाह गराएको, बृद्ध भएका माता–पितालाई आफूले माइतमा छोडेर आएको, आफ्ना घरका गरीबीले गर्दा आफूलाई गर्भिणी अवस्थामा छोडेर बृद्ध शरीरका पति भिक्षाटनमा हिडेको, छोरालाई जन्म दिएर अर्काका घरमा गएर दानको माग गरी ल्याएर बालक छोरो हुर्काएको र आफू यौवन अवस्थामा नै यसरी पति वियोग हुनु परेको कुराहरु उनका मनमा एकमाथि अर्को थपिदै गए ।” हे स्वामी ! भिक्षा माग्न जानु भएथ्यो, मलाई एक्ली पारेर अहिले कहाँ जानु भयो ? हे नाथ ! तपाईबिना मेरो प्राण कसरी रहला ? तपाई जहाँ जानु भएको छ, मलाई पनि त्यतै नै जानुहोस्” भनी रुँदै भूईमा लडिन् ।

 आमाको त्यो अवस्थादेखि नवराजले धैर्य भई भन्न लागे—“हे माता ! संसार अंसार छ । यो साररहित भएकोले यहाँ जन्मपछि मृत्यु निश्चित छ । अब मेरो मुख हेरी सन्तोष लिनुहोस् । शोक नगर्नु हवस् । आजसम्म तपाई के खाएर रहनुभयो ? आज यतिबेला यो रात्रिमा के गर्दै हुनुहुन्थ्यो ? सुगन्धित धूप र नैवद्यहरुको वास्ना झैं लाग्दै छ त ? यो के गर्नुभएको हो जान्न पाऊँ ? अहिलेसम्म किन नसुत्नुभएको हो ?” आफ्ना पुत्र नवराजद्वारा यसरी सोधनी भएपछि गोमाले पनि नवराज घरबाट गएदेखि भएका सबै वृत्तान्त सुनाईन् र भनिन् — “हे छोरा ! तँ थाकेर आईस्, कति भोक लागिरहेको होला ? यहाँ मैले श्री स्वस्थानी परमेश्वरीको प्रसाद राखिदिएको छु, खा ।” भनी सबै आठ–आठ पदार्थहरु दिइन् । नवराजले प्रसाद खाइसकेपछि फेरि भनिन् —“बुहारी चन्द्रावती माइत गएपछि तँलाई सम्झी दुःखका दिन बिताई रहेकी थिई । सप्तऋषिका उपदेशले गर्दा श्री स्वस्थानी परमेश्वरीको कृपा हुनगै आज तँलाई पाएँ । उनको महिमा अत्यन्त ठूलो रहेछ, यस लोकमा सुःख सम्पत्ति पाई परलोकमा समेत मोक्ष मिल्ने रहेछ” भनी श्री स्वस्थानीको ध्यान, पूजाविधि र कथासमेत छोरालाई सुनाइन् ।

यसरी जाग्रत रहँदा समय बितेको पत्तै नपाई भूइँमा उज्यालो खस्यो । नवराजले भने —“माताजी ! तपाई धन्य हुनुहुन्छ, परम महिमाले युक्त भएकी श्री स्वस्थानी परमेश्वरीको व्रत–पूजा गर्नुभयो, मलाई साह्रै सन्तोष लागेको छ । अब म गङ्गाजीमा पुगी स्नान गरी आउने छु भनी फेर्ने लुगा बोकेर स्नानार्थ हिँडे । गङ्गातीरमा पुगी स्नान, सन्ध्या, तर्पण, सूर्याध्र्य सूर्योपस्थान आदि नित्य कर्म सकेर हरिहरको पूजोपासना पनि गरे । सन्तुष्ट भएका हरिहरले गङ्गाजीबाट प्रत्यक्षरुपमा निस्किएर नवराजलाई दर्शन दिई भन्दा भए — “ हे नवराज ! तिम्री माताले गर्नुभएको श्री स्वस्थानी परमेश्वरीको व्रतका अनुष्ठानले हामी सन्तोष भयौं । यहाँबाट गङ्गाका दक्षिण भागमा एउटा लावण्य नाम गरेको देश छ । यस बखत त्यहाँ कुनै पनि राज छैनन् । त्यहाँका मन्त्रीहरु सन्त, महात्मा, विद्वान, बुद्धिजीवी र सबै देशभक्त प्रजाहरु मिलेर हात्तीलाई सुवर्णकलश र पुष्पामाला दिई राजा रोज्न भनी पठाउने भएका छन् । तिमी पनि त्यो लावण्य देशमा जाऊ, हामी गएर त्यो राजहात्तीमा प्रवेश गर्नेछांै र तिमीलाई नै त्यो सुवर्ण कलशका जलले अभिषेक गरी पुष्पमाला पनि तिम्रा गलामा पहिराई दिनेछौ र तिमी त्यहाँका राजा हुने छौ भनी वरदान दिनु भयो । हरिहर भगवानको त्यस्तो वाणी सुनेर प्रशन्न र धैर्य साथ दुवै कर जोरी नवराजले स्ुतति गरे —

योतौ शंशकपालभूषितकरौ मालाऽस्थिमाला धरौ ।
देवौ द्वारवतीश्मशाननिलयौ नागारिगोवाहनौ ।।
द्विञ्यक्षौ बलिदक्षयज्ञमथनौ मेघाद्रिराजप्रभौ ।
पापं मे हरतां सदा हरिहरौ श्रीशैलजा बल्लभौ ।।

एउटै स्वरुप भएका हे हरिहर ! हे विष्णु ! हे शंकर ! आफ्ना–आफ्ना हातमा शंख र नरमुण्ड लिएका, बनमाला र आस्थिमालाले वक्षःस्थलमा शोमा पाएका, द्वारकाधाम र श्मशानघाटमा वास गर्ने, गरुड र वृष वाहन, दुई र तीन नेत्रले युक्त, बलि राजा र दक्ष प्रजापतिको यज्ञलाई मथन गर्ने, मेघ जस्तो श्यामवर्ण र पर्वतका अधिराज हिमालयको जस्तो सेतो वर्ण भएका, लक्ष्मीदेवी र पार्वती देवीका प्रिया भएका हे द्विदेव ! हे हरिहर ! मेरा पाप पुञ्जलाई सदाका निम्ति हरण गरिदिनुहोस् ।

 म अनाथमाथि कृपा गरी दर्शन दिनुभयो, म धन्य रहेछु । “सहनशीला, सदाचारिणी, धैर्य र पतिभक्ति परायणा हर भगवानका कृपाले लावण्य देशको राजा भएस्” भनी आफ्नो दाहिने हात नवराजका शिरमा राखी पे्रमाश्रु झार्दै माता गोमाले पनि आशीष दिइन् । नवराज पनि श्री स्वस्थानी परमेश्वरीको रुपलाई मनमा लिई आफ्नी आमाका दुवै चरणमा शिर राखी ढोगेर लावण्य देशतिर लागे ।”

आगौं कथा अर्को अध्यायमा ।

इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
नवराजवरदानप्राप्ति नामं चतुर्विंशोेअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!


ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
         गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
        यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
        बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
        नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

No comments:

Post a Comment