श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
त्रियोविंशोध्याय: श्री स्वस्थानीव्रतविधि कथनं
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
आफ्ना पिताका खोजीका निमित्त घरबाट नवराज गएका लगतै केही दिनपछि उनकी पत्नी चन्द्रावतीले सासूसित भनिन्—“हे माताजी ! म आफ्नो माइत नगएको लामो समय भयो । यहाँ हामी दुई जनालाई खाने अन्न र लाउने वस्त्रको साह्रै कष्ट छ । अर्काकै घरमा गएर मागेर मात्र कति निर्वाह होला ? यसकारण, म अलिक दिन माइत जानुपर्याे यहाँ तपाई एक जना मात्र हुनु भए एक पेट मात्र पाल्न धेरै सजिलो पर्ला ? तपाई आफ्ना जिउ र घरको स्याहार—सुसार गरी बस्नु र आफ्नो छोरा आउने वित्तिकै मलाई लिन पठाउनुहोला”। यति भनी सासूलाई दण्डवत् प्रणाम गरी चन्द्रावती माइती घरतिर हिडिन् ।
बुहारी गएपछि गोमा ब्राम्हाणीलाई अरु दुःख र कष्ट बढे । आफ्ना दुःखका दिन देखेर उनले भिक्षुक रुप महादेवले श्राप गरेको सम्झिएर मन–मनमा भन्न लागिन् —“म सात वर्षकी हुँदा सत्तरी वर्षका बूढासित विवाह भएथ्यो । वहाँ पनि मलाई गर्भवती अवस्थामा छोडी भिक्षा माग्न भनी घर छोडी जानुभएको यतिका वर्ष बितिसक्दा पनि फर्किनु भएन । छोराको मुख हेरी दुःख बिर्सिएकी थिएँ, ऊ पनि आफ्ना बाबाको खोजीमा गएको अझै फर्किएन । बुहारी ता बसकै छे भन्ने थियो , उसले पनि मलाई छोडेर माइततिर गई । मेरो ता कतै जाऊँ भने पनि ठाउँ छैन । हे परमेश्वर ! मैले जो–जो बिराएँ, ती सम्पूर्ण अपराध क्षमा गर कि त यो अलिकति रहेको प्राण नै लै जाऊ,”। यस्तै अनेक तर्क गर्दीछँदी गोमा ब्राम्हाणी अविरल आँसु बँगाई रोई कराई अचेत जस्ती भईन् । सचेत भएपछि विगतका कुरा संझी पछुतो गर्दै भन्न लागिन् —“उस दिन मलाई श्राप दिने भिक्षुक महादेव नै रहेछन्, त्यही श्रापको परिणामा मैले भोग्नु पर्दैछ । हे जगदीश्वर ! हे आशुतोष ! बाल्य अवस्थामा अज्ञानताले गरेको मेरो त्यो अपराधालाई क्षमा गरी मलाई यो असहाय दुःख कष्टबाट पार गर । पार गर्न नसके मेरो यो प्राण नै हर ।” भनी वलीन्द्रधारा आँसु झारी रुन लागिन् ।
गोमामाथि आईलागेका यी दिन दशा र उनको यस्तो अवस्था भएको कुरा कैलाशपर्वतमा श्री पार्वतीले थाहा पाउनु भयो र श्री महादेवसित विन्ति गर्नुभयो —“ हे महेश्वर ! चन्द्रज्योति नगरमा गोमा ब्राम्हाणीले पाएको दुःख कष्ट देख्ता मेरो हृदय दयाले द्रवीभूत भयो । ती पनि हजूरबाट नै पाणिग्रहण गरिएकी हजुरकी पत्नी हुन् । तिनलाई अब यहाँ भन्दा बढी दुःख दिनु उचित छैन । हे दयानिधे ! आज्ञा पाए ती गोमालाई श्री स्वास्थानी परमेश्वरीको व्रत गराउन थिएँ , जसका प्रभावले गरिकन दुःखका सागरबाट तिनले पार गराउने थिइन् ।” पार्वतीले गरेको यो बिन्ति सुनी प्रसन्न भएर श्री महादवले —“ हे प्रिय ! हुन्छ त्यसै गर भनी आज्ञाा भयो ।
यति आज्ञा पाएर पार्वतीले सप्तऋषिहरुलाई डाकी भन्नुभयो —“ हे ऋषिगण ! तपाईहरु मत्र्यमण्डलको चन्द्रज्योति नगर भन्ने ठाउँमा जानुहोस् । त्यो नगरका कुनै एक छेउ अथवा कुनापट्टि साह्रै दुःख र कष्टले रहेकी गोमा नाउँ गरेकी ब्राम्हाणीको पत्तो लगाई उनलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गराई आउनुहोस् ” भनी व्रतको सम्पूर्ण विधि समेत सप्तर्षिलाई बताउनुभयो । श्री पार्वतीबाट पाएको आज्ञालाई शिरोधार्य गरी सप्तऋषिहरु मत्र्यमण्डलको चन्द्रज्योति नगरमा पुगे । शहर प्रवेश गर्नुअघि बाहिरपट्टि रहेका गाई वस्तु गोठालो गर्ने केटा–केटीहरुसित—“यहाँ दुःखीको छ ?” भनी सोधनी गर्दा तिनले भने — “यो चन्द्रज्योति नगरभित्र दुःखी कोही छैनन्” सबै नै सुखले परिपूर्ण छन् तर शहरका बाहिर भने कोही –कोही दुःखी होलान् ती मध्ये गोमा नाउँ गरेकी एक ब्राम्हाणी चाहीँ अत्यन्त दुःखी छिन् । त्यहाँ गई सबै कुरा बुझ्नुहवस् ।” यति भनी तिनले केही पर रहेको गोमाको झुपडी पनि देखाई दिए । सप्तऋषि पनि त्यहाँ पुगी बाहिरबाट गोमालाई बोलाए । बोलाएको सुनी गोमा आफ्ना झुपडीबाट बाहिर निस्किईन् र लहरै उभिरहेका सात जना दिव्य रुपमा ऋषिहरुलाई देखी प्रणाम गरिन् । सप्तऋषि आएका हुन भन्ने चिनेपछि आदरपूर्वक भित्र लगी आसनमा बसाली हात जोडेर सोधिन् —“हे ऋषिवृन्द ! आज म जस्ती पापिनीका घरमा पाउ कष्ट गरी मलाई दर्शन दिनुभयो र मेरो घरपनि पवित्र गराई दिनुभयो सो के का निम्ति हो ? आज म धन्य हुन पाएँ ? मेरो यति ठूलो भाग्योदय हुनुको के कारण हो ? आज्ञा हवस्”।
गोमाका कुरा सुनी सप्तऋषिहरुले —“हे गोमा ! तिमिले आफूलाई किन पापिनीको संज्ञा दियौ ? तिमी ता महान् धर्ममूर्ति माता हौ । केवल तिमीलाई यस बखतमा ज्यादै दुःखिनी हुनु परेको छ । तिमीलाई यस्ती दुःखी देखेर नै श्री जगदम्बा पार्वतीका आज्ञाले आज हामी यहाँ आई श्री स्वस्थानी परमेश्वरीको व्रत गराई तिम्रो उद्धार गर्ने मनसुवा लिएका छौं । त्यो व्रतको महिमा सागरभन्दा गहिरो छ । व्रत गर्ने विधि जो छ, त्यो एकचित्त भई सुन । अघि सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी व्रत गर्नुभएको हो । पौष शुक्लचतुर्दशीका दिन हात गोडाका नङकाटी, स्नान गरी शुद्ध भै पूर्णिमाका दिनदेखि नित्य स्नान गरी, मन–वचन र कर्मले पवित्र रही, एकचित्त गरी, एक भक्त रही , एक महिनासम्म नित्य मध्यान्हकालमा श्री महादेवको पूजा गर्नु र माघ शुक्ल पूर्णिमाका दिन व्रतको उद्यापान शाङ्गे गर्नु । त्यो दिन एकशय आठ रोटी, एकशय आठ जनै, एकशयआठ कुड्का सुपारी, नङले उधारेका नभाँचिएका र सग्ला एकशय आठ अक्षता, एकशय अक्षता, एकशय आठ जात–जातका फूल यस्तै भेटी, पान, विल्वपत्र, सुत्र, फल, नरिवल, मेवामिष्ठान्न, बाती आदि पनि एकशय आठ कै संख्याले आफ्ना शक्ति अनुसार सकेसम्म जुटाउनु । जुटाउन नसकेमा शुद्ध मनले भक्ति पु¥याई आर्शीमा ॐकार लेखी गङ्गा जलले स्नान गराउनु । त्यसपछि षोडशोपचार वा पञ्चोपचारले श्री स्वस्थानी परमेश्वरीको पूजा गर्नु । रातो फूल, रातो चन्दन, सिन्दूर, धूप–बाती, पञ्चामृत आदि जुटेका सामग्रीहरुले पूजा गरी पुष्पाञ्जली, आरती गर्नु र श्री स्वस्थानी परमेश्वरीको कथा सुन्नु अथवा आफूले पढ्नु र अरुलाई पनि सुनाउनु । सुन्ने कोही नभए आफ्नै ओछ्यान,खाट, एेंटो, धनु आफ्ना गरिखाने साधन जे–जे छन् तिनलाई नै सुनाउनू । पूजा र कथाका अन्त्यमा जुन कामनाको सिद्धिका निम्ति व्रत लिईएको छ त्यो सम्झिई मेरो फलानु कामना सिद्ध होस् हे परमेश्वरी ! भनी अर्घ चढाउनmु जप गर्नु र ध्यान गर्नु । हे गोमा ! ती स्वास्थानी देवी भनेकी कस्ती छन् भने —
सुर्वणवर्ण दीप्ताभां त्रिनेत्रां कमलासनाम् ।
सिंहासनसमासीनां सर्वालंकार भूषिताम् ।।
नीलो त्पलधरां वामे दक्षिणे वरदां शुभाम् ।
खड्गचर्मधरां चोध्र्व वामदिक्षणयो : क्रमात् ।।
एवं ध्यात्वा महादेवीं स्वस्थानी परमेश्वरीम् ।
सुर्वण भन्दापनि पीत वर्णको दिव्य सुन्दरताले युक्तभएकी, तीन नेत्र भएकी, कमल पुष्प झैं उज्यालो मुहार भएकी, सिंहका पीठलाई आसन गरेर रहेकी, सम्पूर्ण अलंकारहरुले विभूषित भएकी, चार हातले युक्त, तीमध्ये दायाँ पट्टिका दुई हातमा एकमा खड्ग र अर्कामा भक्तलाई दिने वरदान लिएकी , बायाँपट्टिका दुई हातमा एकमा नीलोत्पल र अर्कामा चर्म लिएकी श्री स्वस्थानी परमेश्वरीको ध्यान गर्नु र श्री महादेवको पनि त्यहींनै पूजा गर्नु । माथि वर्णन गरिएकी श्री स्वस्थानी परमेश्वरीलाई आफ्ना हृदयकमलमा राखी यो श्लोकले स्तुती गर्नू —
नमस्तेऽस्तु जगन्मातः ! स्वस्थानी सर्वमङ्गले ।
तव प्रसादाद् देविशि ! व्रतपूर्ण तवाऽज्ञया ।।
हे जगज्जननी ! हे स्वस्थानी ! हे मंगल स्वरुपिणी ! हे देवी ! हे ईश्वरी ! हजूरलाई मेरो बारम्बार प्रणाम ! हजुरका आज्ञाले, हजुरका वरप्रसादले मेरो व्रत पूर्ण हवस् ।
यसरी ध्यान र स्तुति गरिसकेपछि अघि पूजा गर्दा चढाइएका एकशय आठ, एकशय आठ मध्ये आठ रोटी, आठ अक्षता, आठ बेलीपुष्ष, आठ कुड्का सुपारी, आठ सुत्र, आठ पान, आठ जनै, आठ फल आदि सगुन समेत आफ्ना पतिलाई दिनु, पति नभए पुत्रलाई दिनु, पुत्र नभए मित्रलाई दिनु । यी मध्ये कोही पनि नभए मेरो फलानु मनोइच्छा सिद्ध हओस् भनी शालिनदीको गङ्गामा बगाईदिनु, गङ्गामा पुग्न नसके कुनै अरु नदी, खोला, पोखरी वा तलाउमा लगी विसर्जन गरी आउनु र चढाइएका पदार्थ मध्येका एकशय एकशय नैवैद्य जति आफूले प्रसाद रुपमा ग्रहण गर्नु । बाती बाल्नु, सुत्र लगाउनु र उपभोग्य सामाग्रीलाई आफैले उपभोग गर्नु । त्यो रात्रिमा जागा रहेर कीर्तन, भजन, गायन र नृत्य द्धारा श्री स्वस्थानी परमेश्वरी लाई सन्तुष्त गराउनु । हे गोमा ! यति गरेपछि श्री स्वस्थानी परमेश्वरीका अनुग्रहले तिम्रा सबै दुःख–कष्ट नाह हुनेछन् । यिनै व्रतका प्रभावले श्री पार्वतीदेवीले श्री महादेव स्वामी पाउनु भएको हो । लौ, अब हामी पनि आफ्ना स्थानमा जान्छौ” भनी सप्तऋषिले हिड्ने मन गरे । यो देखि गोमा ब्राम्हाणीले हात जोडी भनिन्—“हे ऋषीश्वर हो ! तपाईहरुका कृपाले श्री स्वास्थानी परमेश्वरीको महिमा र व्रतको विधिसमेत मैले सुन्न पाएँ । म यस्ती दुःखीयाका झुपडीमा आई मलाई कृतार्थ गराउनु भयो । मैले केही आतिथ्य सत्कारसम्म पनि गर्न पाएकी छैन । पसलमा गएर म पान किनेर ल्याई आतिथ्य सत्कार गर्छु अनि मात्र जान्नुहोला भनी चर्खामा रहेको धागोको लरिया बेची पान किन्न भनी त्यो लरिया लिई बाहिर निस्किईन् ।
गोमाको दुःख–कष्ट देखेर सप्तऋषिलाई साह्रै दया लाग्यो र सात ओटा सुनका कौडी आफूहरु बसेको आसनमुनी छोडी गोमा आईपुग्नु अघिनै उनीहरु त्यहाँबाट प्रस्थान गर्दा भए ।”
आगौं कथा अर्को अध्यायमा ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी व्रत–विधि कथंन नामं त्रयोविशोेअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
No comments:
Post a Comment