Thursday, January 28, 2016

Shree Swasthani Brata Katha Episode 20 (विशोे अध्याय: गोमा कन्यादानं)

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।


विशोे अध्याय: गोमा कन्यादानं

श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
भिक्षुकको श्राप पाई अति मलिन मुख लगाएर गोमा खिन्न भै बसिरहेकी थिई । उता गंगास्नन, हरिहरको पूजा र सुवर्ण, अन्न, वस्त्रादि दान गर्न गएका माता–पिता आई पुगेर रोईरहेकी  छोरीलाई देखी “तँलाई के भयो ? किन रोएर बसिरहेकी” भनी बाबा महतारीले सोधनी गर्दा गोमा भन्छिन् —“हे बाबा–आमा ! तपाईहरु गंगास्नान गर्न गएका बेला म पूजाका निम्ति अक्षता केलाई रहेकी थिएँ, त्यसबेला एक भिक्षुक आई बलेंसीबाट अलख जगाए । तब मैले “अक्षता केलाउँदैछु, एक छिन पर्खनुहोस्” भनी अक्षता केलाई सकेपछि भिक्षा लिई सिकुवामा आई –‘हे भिक्षुक ! भिक्षा लिनुहोस्’ भनें । ती भिक्षुकले मलाई “यति बेलासम्म पर्खाएर भिक्षा दिन आईस् ? म त्यो भिक्षा लिन्न, दिने भए तेरा बाबाले पूजा गर्ने तैंले केलाएका अक्षता भिक्षामा दे” भने । मैले पनि “लिने भए यही भिक्षा लेऊ , अक्षता  ता दिने होइन” भन्दा ती भिक्षुकले रिसाएर भने —‘हे पापिनी ! तैंले अंहकार गरी मलाई भिक्षा दिइनस्, तँ सात वर्षकी हुँदा सत्तरी वर्षका बूढासित तेरो बिहे होस् , तेरा बाबा – महतारीले कष्टसाथ गणेशको सेवाबाट पाएको सारा सम्पत्ति नष्ट होस्, तँलाई नाना थरीका दुःख आई लागून् अनि तेरा बाबा आमासित चाँडै तेरो वियोग होस् यति चार थोक श्राप दिई जान्छु’ भनी डमरु बजाई अलप भए । ” यति भनेर गोमा बलिन्द्र धारा आँशु बगाउँदै डाँको छोडी रुन लागिन् ।

स्नान, दान, सत्कर्मले पवित्र भैसकेका ब्रम्हज्ञानी शिवभट्टले भने—“हे गोमा ! ती भिक्षुकको भेष लिई आउनु भएका ता कैलाशपति महादेव हुन् । तिम्रा मिम्ति भविष्यमा जे–जे हुन लेखिएको छ त्यो–त्यो भनेर जानु भएको । श्री महादेवले कुनै अपराध नगरी श्राप दिनु हुन्न । तिमी यति सानी बालिकाले केलाएका अक्षता नदिएका कारण त्यति ठूला श्राप दिनु भएका होइनन् । श्री महादेवले दिएको ता श्राप पनि आशीष् हुन जान्छ । भिक्षुकले श्राप दिए भनेर रुनु हुदैन” भनी सम्झाए, बुझाए । गर्र्दै भन्दै गोमा छ वर्षकी पुगिन् । आफ्नी ब्राम्हणी सतीसित सल्लाह गरी शिवभट्टले कतै मिल्दो–जुल्दो वर पाईन्छ कि भनी वरपर खोजी गर्न लमी पठाए तर श्री जगदीश्वरको श्रापका कारण गोमाको कन्यादान लिने योग्य वर मिल्न सकेन । आफै जानुप¥यो भनी वर खोज्नका निम्ति शिवभट्ट ब्राम्हण जहाँ तहाँ घुमी हेरे तर मनले खाएको वर कतै पाईएन । धिक्कार मान्दै गङ्गा किनारमा पुगेर स्नान गर्न आएका ब्राम्हण कुमारहरुमध्ये कुनै एउटाता भेटिन्छ कि चारैतिर आँखा घुमाए तर पत्तो लागेन । हार भएर घर फर्कनै लागेको शिवभट्ट ब्राम्हण्ले एक सेतै फुलेका वृद्ध ब्राम्हणलाई गंगा किनारका एक कुनामा संध्या गर्न बसेको देखे ।

हाड र छाला मात्र भएको, कुप्रो, बहिरो, डेरो–डेरो गरी हेर्ने, कैला आँखा र आँखा भरी कचेरा भएका , आँखी भुँई जोडिएका, मुखमा एक दुईवटा मात्र दाँत रहेको, मुखबाट राल चुहाईरहेको, दुवै कानमा भुत्ला भएको, आङमा मैलो र पातलो वस्त्र ओढेको, अन्दाजी सत्तरी वर्षका उमेरको , ढुंगामाथि बसेर सन्ध्या गर्दै गरेको बूढालाई सन्ध्या नसकुन्जेल सम्म शिवभट्टले हेरि रहे । जब ती बृद्धले सन्ध्या सके, उनैले शिवभट्टलाई सोधे – “तिमीले मतिर अघिदेखि हेर्दैैछौ, किन हे¥यौ ? तिमी को हौ अनि कहाँबाट आयौ?” यो सुनी उनले भने —“म शिवभट्ट नाम भएको ब्राम्हण हुँ । छोरीको विवाहका निम्ति कतै राम्रो वर देखेका छौ कि सोध्नुप¥यो भन्ने मनले यहाँ तिमीलाई पर्खिरहेको हुँ, तिमी को हौ ? अनि घर काँ हो ?” यो सुनी वृद्धले भने — “हे शिवभट्ट ! म पनि शिव शर्मा नाउँ गरेको ब्राम्हण हुँ । कसैले कन्यादान दिए लिने थिएँ भनी सोह्र वर्षका उमेरदेखि खोज्दै हिडेको हुँ । आज सत्तरी वर्ष पूरा हुन आँटे र पनि कुनै कन्यादान मिल्न सकेको छैन तर आज मेरो भाग्यको उदय भए जस्तो छ । हे पिता ! ममाथि दया गरी आफ्नी कन्या अब मलाई कृपा गर । हेर, यो उमेर भै सक्दा पनि मेरो विवाह हुनसकेको छैन । तिमीले मेरो इच्छा पूर्ण गरिदिए म पनि गृहस्थ भै सुख गर्न पाउँदो हुँ । ”

ती वृद्धको कुरा सुनी उदेक मान्दै शिवभट्ट बोले — “हे वृद्ध ब्राम्हण ! तपाईले यो के बोलेको ? यो उमेरमा बिहे गर्छु भन्नुहुन्छ । तपाईले यस्ता वृद्ध र कुरुपलाई कामदेवकी स्त्री रति जस्ती सुन्दरी बालिका कन्या कसरी दिऊँ ? त्यस्तो अयोग्य कुरा न भन्नुहोस् ”। त्यो सुनी फेरि वृद्धले बोले— “हे शिवभट्ट ! त्यसो नभनि देऊ, दया गर, आफ्नी कन्या मलाई देऊ । दिन्न नै भन्छौ भने म हत्या गरी मरुँला ।” शिव शर्माले भनेका यी कुरा सुनी शिवभट्टले मनमनै गमे–“ हे देव ! मेरी  छोरीका निधारमा भावीले यस्तै नै कोरेछ त ? अब म कसो गरुँ ? भिक्षुक रुप महादेवले नै त्यो दिन श्राप दिनु भएको रहेछ जुन श्रापले मिल्दो वर आजसम्म पाउन सकिएन । श्री महादेवको श्राप टार्न इन्द्र जस्ताले, रावण जस्ताले ता सक्तैनन् भने म जस्ताले कसरी सकूँला ?” यस्ता विचारमा डुबेका शिवभट्टले मन बुझाई ती शिव शर्मालाई अघि लागाई ब्रम्हापुर आफ्ना घरमा पु¥याए ।

उनकी ब्राम्हाणी सतीले आफ्ना स्वामीलाई देखी हर्षित हुँदै साथमा आएका वृद्धका बारेमा जान्ने इच्छा गरिन् । शिवभट्टले भने—“हे प्रिये ! यी शिव शर्मा नाउँ गरेका ब्राम्हाण हुन् । गोमाका निम्ति असल वर खोजी हिड्दा कतै पाउन सकिन र घर फर्किने इच्छाले आउँदा–आउँदै गङ्गाका किनारमा बसी सन्ध्या गर्दै गरेका यिनलाई देखें । सन्ध्या सकेपछि यिनले पनि मलाई देखेर छेउमा आई मेरो सोध खोज गएको कुरा गरे । मैले पनि आफ्नो परिचय दिएँ र कन्यादानका निम्ति वर खोज्न गएको कुरा गरें । मेरो सबै आशय बुझी यिनले भने — “म पनि ब्राम्हाण हुँ । कसैले कन्यादान दिए विवाह गर्ने थिएँ भनी सोह्र वर्षका उमेरदेखि कन्यार्थी हँुदै हिडेको आज सत्तरी वर्ष उमेरको पुग्न लाग्दा कुनै दाता निस्किएको थिएन तर आज मेरा भाग्यले तिमीसित भेट भयो, अब तिम्री कन्या मलाई नै दिने काम गर ।” हे स्त्री ! यिनका ती अनौठा कुरा सनेर बडो आश्चर्य मान्दै मैले भने — “हे ब्राम्हाण ! तिमी यस्ता वृद्ध उमेरका अनि यस्ता कुरुपलाई मैले आफ्नाी बालक पुत्री, त्यसमा पनि कामदेवकी स्त्री रति जस्ती राम्रीलाई तिम्रा हातमा कसरी सुम्पिउँ ? यस्ता कुरा नगर, यस्तो काम गर्नु, भन्नु अयोग्य छ । ” मैले यति भन्दा पनि फेरि ढिपी गर्दै— “ हे शिवभट्ट ! त्यसो नभन, तिम्री कन्या मलाई दान गर । दिदै दिन्न भन्छौ भने म हत्या गरी मरुँला” भन्न थाले र मेरा अघि लागि आए । अब कसो गर्नु ? ब्रम्हा हत्या लिउँ कि गोमाको कन्यादान गरौं ?”

 आफ्ना पतिका यस्ता कुरा सुनी सती ब्राम्हाणी भन्छिन् — “हे पतिदेव ! हजुर कतै सपनामा ता हुनु हुन्न ? यो भन्नै नमिल्ने के भनिबक्सेको ? एक त यस्तो रुवा झै सेतै टाउको भएको बूढो, त्यसमाथि कान नसुन्ने, कैला आँखाको डेरो–डेरो गरी हेर्ने, आँखी भूई जोडिएको, परेला, फूलेको, कालो, मुखबाट राल र नाकवाट सिंगान चुहाईरहेको यस्तालाई छोरी कसरी दिनु ? हाम्री छोरी मध्यान्हकालका सूर्यको जस्तो तेज र प्रातः कालका सूर्यको जस्तो ज्योति भएकी, पूर्णिमाका चन्द्रको जस्तो मुखमण्डल, हात्तीका सूँढ जस्ता हात पाउ, बाघको जस्तो कम्मर, सावित्रीका जस्ता पैताला, राजहंसको जस्तो गमन, कोइलीको जस्तोमीठो स्वर, कमलका पात जस्ता आँखा, सुगाको जस्तो नाक, अनारका दाना जस्ता दाँताका पंत्ति, गोल काँक्री जस्ता ओठ, स्याउका दाना जस्ता गाला, शंख जस्तो घाँटी, बाघिनीको जस्तो केश, ठूलो निधार र अरु पनि धेरै लक्षणले युक्त भएकी छिन् । यो आकाश र पातालको फरक पर्ने कुरा हजुरका मन पेटमा कसरी पुग्यो ? अर्काको कन्यादान दिएन भनेर जतिले हत्या गरी मर्छन् त्यो हत्या उसैले बेहोर्नु पर्छ, नदिनेलाई कतै लाग्छ ? आत्माहत्या गरी मर्छ भने मरोस् त्यो पापका निम्ति म टाउको थापुँली । त्यसका त्यस्ता घुर्कीले केही गर्दैन । संसारमा अरु कोही वर नभए जस्तो यो के कुरा हो ? हजुरले नसके वरको खोजीमा म जाउँली !”

यस्ता कुराहरु आफ्ना पति शिवभट्टका सामु सती ब्राम्हाणीले भनेको सुनी छेउमा बसीरहेका शिवशर्माले भने — “हे माताजी ! संसारमा बूढा पनि छन्, बालक पनि छन् । राम्रा पनि छन्, नराम्रा पनि छन् । कसैले पुरुषभन्दा पत्नी जेठी छिन्  । कसैका पत्नी भन्दा कता हो कता पति जेठा छन् । कोही पुरुष स्त्री बिनाका र कोही स्त्री पति बिनाका पनि छन् । कोही सर्वहारा कंगाल र कोही अलेख धनी पनि छन् । यो ता कुम्हालेको चक्र हो, यहाँ को बालक हुदैन, को तन्नेरी हुदैन अनि को चैं बूढो हुदैन ? यो संसारमा मर्नु नपर्ने को छ ? यी सबै कुरा बुझेर तपाईहरुकी कन्या मलाई देऊ नत्र भने तिमीहरु दवैलाई श्राप दिई यही मर्छु । ” यति भनी ती बूढा ब्राम्हाणले आसन बाँधी प्राण वायु खिंचेर ब्रम्हाण्डमा पु¥याई साच्चै नै प्राण छोड्न आँटे ।

यो देखी गोमाका पिता डराएर भने — “हे ब्राम्हाण देवता ! त्यसो नगर । तिमीलाई म मेरी पुत्री दिउँला । ” पतिका वचन सुनेर सती ब्राम्हाणीले नमान्दा शिवभट्टले सम्झाउन लागे — “प्रिये ! यता हेर, त्यो दिन हाम्री छोरीलाई श्राप दिई जाने भिुक्षुक साक्षात श्री महादेव हुनुहुन्थ्यो । तेतीसकोटी देवता अघि सरेर हाम्रो सहाय हुन आए पनि त्यो श्राप टर्ने छैन । यो ता दैवले पारिल्याएको कुरा हो, यसमा व्यर्थको ढिपी गर्नु ठीक होईन । अब यिनैलाई गोमा छोरी दिऊँ, चाहिने सामाग्री तयार गर” । आफ्ना पतिका कुरा सुनेर सती ब्राम्हाणीले मनले अनेक कुरा खेलाउन लागिन्” । अहो ! आश्चर्य ! यस्ता बूढा र यस्ती बालिकाको विवाह देखिन आँटयो । निर्विवेकी विधाताले मेरी पुत्रीका ललाटमा यस्तो के लेखी दिएछन् ? न्वारानका दिन गुरु पुरोहितले ता यो बालिका भविष्यमा भाग्यशाली हुने छे र सबै लोकले मान्नेछन् भनेका थिए तर त्यो आज उल्टो भयो । हाम्रा माता–पिताले पनि त्यस्तो कुनै नगर्ने काम ता गरेका थिएनन् । आजसम्म हामीले पनि कसैको कुभलो चिताएका छैनौ । कुन पापका कारण मेरी छोरीलाई महादेवले यति ठूलो श्राप दिनु भएछ । फेरि यस्ता अबोध बालकलाई सानो र ठूलाको के ज्ञान हुँदो हो र महादेवबाट यस्तो दण्ड पाई” । यति भनेर सती ब्राम्हाणी रुन लागिन् ।

आफ्नी गृहणीको त्यो अवस्था देखेर शिवभट्ट ब्राम्हाण पनि बडो धर्म संकटमा परी आँखाका आँसु पुछि दिदैं बोले –“हे प्रिय ! नरोई देऊ, दैवले जो चितायो त्यही नै हुन्छ, अब बिस्मात् गर्ने बेला छैन, यी शिव शर्मा ब्राम्हाणका निम्ति खानपिन र आराम गर्ने ठाउँ मिलाऊ” । आफ्ना पतिदेवबाट यसरी सम्झाउँदा दैव नै बलवान् रहेछ भन्ने बुझी मन शान्त पारिन् र आफ्ना घरमा भए अनुसारको खानपिन गराई आराम गर्ने ठाउँ पनि मिलाई दिईन् । मिलाइएका ठाउँमा पाहुना र आफ्ना सधैका बिछाउनामा शिवभट्ट आराम गर्न पसेपछि आफ्नी पुत्री गोमालाई डाकी सती ब्राम्हाणीले आफ्ना काखमा राखी भन्न लागिन—हे पुत्री ! अब तेरो विवाह हुन लाग्यो । ती आज आएका वृद्ध ब्राम्हाणका साथ विवाह गरिदिन्छौ  किनकी उस दिन तँलाई श्राप दिई जाने भिक्षुक श्री महादेव रहेछन् । तँलाई त्यो श्राप आई लाग्यो, हामीलाई दोष नदिनु, तँ पनि सुर्ता न गरेस् । तेरा कर्मले यस्तै गरायो । कर्ममा लेखेको मेट्न कसैको सामथ्र्य छैन ” । यति भनी मुटु गाँठो पारी आँखाबाट आँसु झार्न थालिन् ।

आमाको बचन सुनी गोमा भन्छिन् —“हे आमा ! तपाईहरुलाई केही दोष छैन, यो सबै मेरो आफ्नै कर्मको खेला हो । अघि मैले अंहकार गरी भिक्षुक श्री महादेवको अनादर गरेकीले आज त्यसैको फल आई लागेको हो । श्री महादेवले दिएका श्रपालाई टार्न को सक्ला ? आफ्ना द्वारमा आई पुगेका भिक्षार्थीलाई जसले विमुख पारी पठाउँला त्यसको अवश्यै नै अकल्याण होला । हे माता ! मेरा बाबाले सधै पढेर सुनाउनु भएका धर्म कथाहरु सुनेर अनि तपाईका साथमा धार्मिक स्थल, मन्दिर र कथा , पुराण, प्रवचनमा जाँदा सुनेर बुझेका कुरा अनुसार बूढो भए पनि खोरण्डो भए पनिm दरिद्र, रोगी, कुष्ठी, पापी , धार्मिक, ज्ञानी, धनी, सुन्दर युवक जस्तो भए पनि आफ्ना कर्मले जस्तो पति भेटिन्छ त्यसैमा नारीले सन्तोष गर्नुपर्छ भन्ने बुझेकी थिएँ । मलाई दैवले यस्तै जुरायो । हे माता ! तपाई नसुर्ताउनुहोस् । पुराणका कथा अनुसार भगवान रामलाई पनि दिन लागेर बनवास लाग्नुप¥यो ।  त्यतिले भएन रावणले पत्नी पनि हरेर लगिदियो । महादेव जस्ताले पनि कालकूट विष पिएर नीलकण्ठ भएर रहनुप¥यो । धर्मराज युधिष्ठिर जस्ताले पनि दैवकै खेलले गर्दा भाइहरु र द्रौपदी सहित बनवास र गुप्तवासका कष्ट बेहोर्नु प¥यो । दिन दशाले गर्दा नै द्रौपदीले दुर्योधनका सभामा अपमानित हुनुपर्याे । दैव दशाकै कारण बलि राजाले सुतल लोकमा बस्न पुग्नुपर्याे । कृष्णको जस्तो शक्ति र उनको जस्तो माया कसको छ तिनैले पनि आफ्नो नाति अनिरुद्धलाई बाणासुरले नागपाशले बाँधेको आफ्नै आँखाका सामुमा देख्नुपर्याे । फेरि उनले छप्पन्न कोटी आफ्ना यदुवंशीको संहार भएको पनि देख्नुपर्याे यो दिनदशाकै खेल हो । यो विश्व ब्रम्हाण्डका कीरा, पुतली, मनुष्य राक्षस, देवता आदि समस्त जीवात्माका सृष्टिकर्ता ब्रम्हालाई पनि दैव दशाकै कारण आफ्नो शिर कटाएर रहनुपर्याे । देवताका राजा इन्द्रले पनि कतिपल्ट राज्य छाडी भागेर ज्यान जोगाउनुपर्याे । हे माता ! विधाताले जे गर्न खोजेका छन् त्यसलाई उलघङ्न गर्न कसैको सामथ्र्य छैन । अघिल्ला जन्ममा जस्तो कमाइएको छ, त्यस्तै भोग गर्नका निम्ति जन्म लिइएको हो, सो अवश्य नभोगी हुदैन । समुन्द्रमा गएर भरे पनि कुवाँमा गएर भरे पनि आफूले बोकेका लोटाभन्दा बढी पानी आउँदैन तसर्थ भाग्यमा थोरै लेखेको छ भने धेरै खोजेर पाईने होईन । तपाईहरुले जस्तालाई दिए पनि जहाँ दिए पनि म आफ्नो कर्मलाई नै कारण मान्दछु । माता–पिताले ठयाम्मै सन्देह, सुर्ता र दिकदार नलिई दिनुहोला ”

हे अगस्त्य मुनि ! छोरी गोमाले भनेका यी सारगर्भित कुरालाई सुनी सती ब्राम्हणी ले आँसु पुछ्तै भनिन् — “हे पुत्री ! तँ धन्य रहिछस् । धर्मशास्त्र र सज्जनका संगका प्रभावले यो अवस्थामा नै तँलाई यत्रो ज्ञान छ । छोरी ! तैंले राम्रा दिनहरु पनि देख्न पाउलिस् । यस तरहले त्यो रातभरी दुई आमाछोरीले दुःख–सुखका कुरा गरे । भोलिपल्ट उज्यालो भएपछि शिवभट्ट ब्राम्हाणले हजाम डाक्न पाठाएर शिव शर्माका गोडाका नङ र केश दाह्री कटाएर नुवाई–धुवाई गराए । केही दिनपछि शिवभट्ट ब्राम्हाणले असल लग्न ठहराई, कन्यादानको सामग्री तयार गरी, नाना माङ्गलिक कार्यकासाथ गोमालाई हीरा, मोती, स्वर्ण, मणि–माणिक्य र वस्त्र अलंकार पहिर्याई शास्त्रोक्त विधिले आफ्ना मर्यादा अनुसार शिवशर्मालाई कन्यादान दिए । गोमा कन्याले हातमा फूलको माला लिएर बूढा वर शिवशर्माका गलामा पहिर्याई ढोगी दिईन । कन्यादानको कर्म सकेपछि शिवभट्टले गुरु पुरोहितलाई श्रद्धापूर्वक भोजन दक्षिणा दिए । निम्त्याएका आफन्त र इष्टमित्रलाई समेत यथा योग्य खानापिनाले खुशी गराई गुरु पुरोहित सबैलाई विदा दिए । गोमा ब्राम्हाणीले पनि आफ्ना स्वामी शिव शर्मा ब्राम्हाणलाई प्रेमका साथ सेवा गरी राख्ती भईन । ”
आगौं कथा अर्को अध्यायमा ।

इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
गोमा कन्यादानं नामं विशोेअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
         गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
        यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
        बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
        नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

No comments:

Post a Comment