Thursday, January 28, 2016

Shree Swasthani Brata Katha Episode 21 (एकविंशोे अध्याय: गोमापति गृहगमनवर्णन)

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

एकविंशोे अध्याय: ।। गोमापति गृहगमनवर्णन ।।

श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
शिवशर्मा व्राम्हणले गोमा कन्यादान पाएपछि रहँदा बस्ता दश–आठवर्ष विते । राम्रो सेवा चाकरी पाएर आफूलाई हृष्ट–पुष्ट भएको देखी उनले आफ्नो घरको सम्झना गर्न थाले ।“ अब यहाँ सधैं बसेर के गर्नु, घर जानुपर्छ होला” भन्ने विचार गरी सासु–ससुुराका छेउमा गएर — “हे माता–पिता ! तपाईहरुका कृपाले कन्यादान पाई मेरो घरजम भयो । यसरी यहाँ म बसेको पनि निकै वर्ष भै सकेछन् । मेरा पनि घरमा हेरचाह गरिदिने कोही छैन । यस कारण, आज्ञा पाए घर जाँदो हुँ  ।” शिव शर्माका यी कुरा सुनी शिवभट्ट भन्दछन् —“हे जुवाइँ ! यो पनि त तपाईकै घर हो हाम्रा पो को छन् र ? तपाई हाम्रा र हामी तपाइकै हौं अनि यो जिलो जेथो पनि तपाई कै हो । जान्छु भनेर  नभन्नुहोस् !’ ससुराको कुरा सुनी शिवशर्मा बोले— “ हजुर ! नजानु भन्ने आज्ञा नहोस् । एकचोटि पुग्छु र घरको हेरविचार गर्छु त्यसपछि बरु चाँडो गरी फर्की आउँला । मेरो पनि ता तपाईहरु बाहेक अरु को छ  र ? बाबा – महतारी, इष्ट–मित्र, कुल–कुटुम्ब जे भने पनि तपाईहरु जस्तो मन लागेको जे पनि खान र लाउन दिई पाल्ने, पोस्ने यस्ता दयालुलाई छोडी हामी कता जान्थ्यौं र ?”

यसरी आफ्ना माता–पितासित आफ्ना पतिले गरेको कुरा सुनी गोमा ब्राम्हाणीले भनिन् —“हे पतिदेव ! जाने मन भए मलाई पनि साथै लै जानुहोस्  नत्र म तपाईलाई जानै दिन्न । तपाई बिना म यहाँ कसरी रहँुली ?” गोमाले त्यति भनेको सुनी शिवशर्मा बोले—“हे प्रिये ! तेरो अवस्था काँचै छ मसित जान नसक्लिस् । हाम्रो घर धेरै टाढा छ, पर्वतमा उक्लिनु र ओह्रालो झर्नु गर्दै लामो बाटो हिड्नुपर्छ । निकैदिन वनमा, ओढारमा, खोलामा बगरमा बास बस्नुपर्छ । बाघ–भालु  र स्याल चितुवाको भय हुन्छ । तँ आफ्ना खुशीले बाबा–आमाका काखमा घरबाट टाढा नगईकन सुखले रहेकी हुँदा मसंग जाँदा बाटामा जाडो, गर्मी र भोक –तिर्खाले दुःख पाउलिस् । अर्कातिर मेरो वृद्ध अवस्था छ, बाटामा चोर डाँकाले तँलाई हरेर लै जाने पनि डर छ । यसर्थ, तँ यही बस्, म घर पुगी वहाँको सबै खबर बुझी दुई महिना भित्रै आईपुग्छु, त्यति कति हो र ?”

शिव शर्माका ुकरा सुनी गोमा भन्छिन  — “हे प्राण प्रिय ! फर्की आउन दुई महीना देखाउनु हुन्छ तर तपाईबिना दुई घडी पनि म रहन सक्तिन । घाम–पानी, भोक–तीर्खाले दुःख पाउलिस् भन्नु हुन्छ । पर्वत चढ्नुपर्छ, ओह्रोलो झर्नुपर्छ, वनमा बस्नुपर्छ, बन्य जन्तुको डर हुन्छ , के तपाईलाई चाहीँ केही हुदैन ? के तपाईलाई चाहीँ केहीले खादैन ? जस्तो गत तपाईको त्यही गत मेरो पनि । म यहाँ एक दिन पनि बस्न सक्तिन । नलिई एक्लै जान्छु भन्नुभयो भने म हत्या गरी मर्नेछु ।” आफ्नी स्त्री गोमाका यस्ता खरा र रामका बाण जस्ता तीखा कुरा सुनेर शिव शर्माले भने— “हे प्रिये ! त्यसो हो भने जाऊँ न त जाऊँ, बाबा आमासित विदा माँग ” भने र गोमाले माता–पिता छेऊ गएर भनिन् —“हे बाबा –महतारी ! मेरा स्वामीसित म पनि आफ्ना घर जान्छु विदा दिनुहवस् ”।

 उनका माता–पिताले यी कुरा सुनी—“हे पुत्री ! जान्छु न भन् । हेर, हामी दुवै अब वृद्ध भयौं । हाम्रो छोरो भने पनि तँ नै होस्, छोरी भने पनि तँ नै होस्, यसरी तैंले पनि छोडेर गएपछि भरेदेखि हाम्रो भोक–तीर्खा कसले हेर्ला ? छोरी हुँदा घरै कत्ति उज्यालो भएको छ तर छोडेर गइस् भने शून्य र औशीको रात झैं अँध्यारो हुनेछ, तँबिना हामी बाँच्न सक्तैनौं । हाम्रो सेवा गरेर बस् । तेरा पुरुषलाई यो पाली एक्लै जान दे, दुई महिना पछि ती आई जालान्” । आफ्ना बाबा–आमाको कुरा सुनी गोमाले भनिन् –“हे पिता ! हे माता ! तपाईहरुले सम्पूर्ण धर्मशास्त्र, श्रुति–स्मृति र पुराणहरुमा हेरेर मलाई पनि बुझाउनु भएकै छ कि स्त्री जातिका निम्ति तीर्थ भने पनि, व्रत भने पनि, दान भने पनि, धर्म भने पनि आफ्ना पति नै हुन् । पुरुष रहेसम्म स्त्रीले तीर्थ, व्रत, दान, धर्म नगरे पनि हुन्छ । कुनै स्त्रीले आफ्ना पतिलाई रिसले हेरे डेरी हुन्छे , पतिको बचन काट्ने पापिनी हुन्छे । पतिका मुख लाग्ने, पतिलाई गाली गर्ने लाटी हुन्छे । लुकाएर खाने कुकुर्नी हुन्छे । पतिका महिमा कति छन् कति ? यसर्थ, मलाई नछेकी दिनुहोस् म नगए मेरो वृद्ध पतिलाई जाँदा र आउँदा बाटाघाटामा र वहाँ घरमा रहँदा कसले स्याहार गर्छ ? वास्तवमा यो संसारको नियम अनुसार, हाम्रो कुल परम्परानुसार बढेकी चेली माइत बसेर हुदैन तथापि तपाईहरुका निम्ति छोरो भने पनि, छोरी भने पनि म एउटै हुँ । यसकारण, मैले फर्किएर आई जानुपर्छ, जति सक्तो चाँडो आउँला ” ।

छोरी गोमाका कुरा सुनी शिवभट्ट र सतीले भने — “हे पुत्री ! अब हामीले के भनौ र ? तँ आफ्ना पतिका साथमा जानु, होशियार रहनु, पतिको सेवा राम्रो गर्नु ” भनी दुवैले बर्बर आँसु खसाई छोरीलाई नाना थरीका वस्त्र र गहना पहिर्याए । त्यसपछि प्रंशस्त द्रव्य दिई, डोलीमा चढाई, ब्रम्हपुर शहरका बाहिरसम्म पु¥याउन गए । त्यहाँबाट डोलेहरुलाई बाटामा राम्रो गरी लगे है भनी अह्राई छोरीसित हेरेर — “ गोमा ! हामीलाई नबिर्से, भरसक चाँडो फर्की आए,” भनीकन विदा गरे । गोमाले पनि डोलीबाटा ओर्लिई, बाबा–महतारीलाई निहुरेर प्रणाम गरी आफ्ना साथी–संगीनीसित पनि विदा भई फेरि डोलीमा चढिन् र गहभरी आँसु पारी डोलेहरुलाई आज्ञा दिईन् । अनि डोलेहरुले काँधमा डोली बोकी त्यहाँबाट हिंडे । आफू जन्मिएको, बढेको, खेलेको ठाउँ हेर्दे गोमाले माइती घर छोडी कर्म घरतिर लागिन् ।

आगौं कथा अर्को अध्यायमा ।

इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
गोमा पतिगृहगमनंं नामं एकविशोेअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
         गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
        यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
        बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
        नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

No comments:

Post a Comment