श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
एकोनविशोे अध्याय: गोमा कन्या श्राप प्राप्तिर्नाम
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
तपाईंलाई मैले स्वर्गको र पातालको कुरा कहेँ । अब मत्र्यलोकका कुरा पनि कहन्छु । ध्यान लगाएर सुन्नुहोस् । मत्र्यमण्डलको दक्षिणपट्टि व्रम्हपुर नामको एक नगर छ । त्यो ठाउँमा वेदपुराणदि धर्मशास्त्रहरुको अभ्यास गर्दै व्राम्हणहरु आफ्ना स्वधर्मको नियमपूर्वक पालना गरी बसेका थिए । ती मध्ये शिवभट्ट नाम गरेका एकजना अति गरिव व्राम्हण पनि थिए । कस्तै दुःख भएपनि तिनलाई कुनै कुरामा लोभमोह भने थिएन । कस्तै दुःख भएपनि आफ्नो व्रम्हकर्म छोड्दैनथे । अर्कालाई दुखाएर कहिल्यै बोल्दैनथे । तिनका व्राम्हणीको नाम सती थियो । यी दम्पतीको अफूूभित्र ज्यादै प्रेम थियो । धनसम्पत्तिको साह्रै कमजोरीले गर्दा दुःख पाएका शिवभट्टले आफ्नी स्त्रीसित एकदिन भने ः–“हे प्रिये ! हामी साह्रै गरिव भयौं । धनसम्पत्तिको अभावले बूढेसकालमा झन् दुःख पाइएला । त्यसो हुँदा सम्पत्ति प्राप्त गर्नका निम्ति हामीले श्री सिद्धि गणेशको सेवा गरौं ।”
यी कुरा सुन्दा सतीका मनमा आनन्द लाग्यो र दुबैले सात–सात दिनमा आउने मङ्गलवारै पिच्छे विहान चाँडै उठी गणेश मन्दिरमा पुगी श्रद्धा र भक्ति पुर्याई श्री गणेशजीको सेवा गर्न लागे । एकत्व भई दशवर्ष जति सेवा गरेपछि श्री सिद्धि विनायकले प्रत्यक्ष दर्शन दिई “ हे द्विज दम्पती ! तिमी दुईले गरेको सेवाले म सन्तोष भएँ । जो इच्छा छ वरदान माग” भन्नुभयो । यो सुनी शिवभट्टले शाष्टाङ्ग दण्डवत ढोग गरी हात जोडी भने ः–“हे पार्वतीनन्दन ! यो जन्मका निम्ति पूर्वजन्ममा मैले केही कमाएको रहेनछु । जसले गर्दा आज मैले सम्पत्तिको साह्रै कङ्गाल भएर दुःख पाइरहेको छु । यसकारण हे प्रभु ! सम्पत्तिका इच्छाले मैले हजूरको सेवा गरेको हुँ ।” व्राम्हणको आशय बुझी श्री सिद्धि विनायकले भन्नुभयो ः– हे शिवभट्ट ! अब आउँदो मङ्गलवारका दिन विहानीपख यहाँ आएर सधैं झैं मेरो पूजा गर्नु । त्यसबेला तिमीहरु दुबैले मेरा मूर्तिका सामु केही देख्नेछौ । त्यो आफ्ना घरमा लगेर तसलामा राखेर माथिबाट तसलैले छोपिदिनु । त्यसलाई चारदिनपछि उघारेर हेर्नु । सुन भइराखेको भेट्टाउनेछौ । त्यसपछि तिमीहरु सुखी होउला ।” श्री गणेशजीले यो वरदान दिई अन्तध्र्यान हुनुभयो । ती द्विज दम्पतीले पनि गणेशजीलाई शाष्टाङ्ग प्रणाम गरी मनमा आनन्द मान्दै घर फर्किए ।
पर्खंदा–पर्खंदा मङ्गलवार आइपुग्यो र गणेशजीको आज्ञा अनुसार श्री सिद्धि विनायकका मन्दिरमा गएर सधैं झैं श्रद्धा भक्तिपूर्वक पूजा गरे । त्यसै बखतमा श्री गणेशका मूर्ति आगाडि एउटा लड्डू देखापर्यो । ती व्रम्हणव्राम्हणीले खुशी हुँदै त्यो लड्डू बोकी घरमा लगेर तसलामा राखी माथिबाट तसलैले छोपिदिए । चारदिनपछि तसला झिकी लड्डू राखेको तसलामा हेर्दा त्यहाँ त सुनको लड्डू भएको देखे । अनि खुशी हुँदै त्यसलाई बडो जतन गरी राखे । त्यसपछि आज भन्दै भोलिभन्दै ती व्राम्हणव्राम्हणी अतुलनीय सम्पत्तिवान भई सुखी भए ।
घरघर गएर भिक्षा मागी खाने शिवभट्ट व्राम्हणले अब हुनेखाने भएपछि एकदिन आफ्नी पत्नीसित भने ः–“हे सती ! पूर्वजन्ममा हामीले कुनै दानपुण्य नगरेकोले यो जन्ममा दरिद्र भई दुःखका दिन विताउँदै थियौं । भाग्यवस श्री सिद्धिविनायकका कृपाले आज हामी धनी र सुखी छौं । हामीले कर्तव्य विर्सनु हुँदैन । अब यस जन्ममा दानधर्म धेरै गरौं । पतिका कुरा सुनी व्राम्हणी ज्यादै खुशी भइन् र दुबै स्त्री पुरुषले नित्य गङ्गा स्नान गरी , हरिहरको पूजा गरी सुवर्णादि द्रव्य दान पनि गर्न लागे । जति धर्म गर्यो सम्पत्ति पनि बढ्दै गयो ।
यो देखी एकदिन व्राम्हणले आफ्नी व्राम्हणीसित भने ः– “हे सती ! हाम्रा सन्तान छैनन् । अब बूढ्याइँले छोयो । यो सम्पत्ति बढाएर मात्र के गर्नु ? भरे यसको रक्षा र उपभोग गर्ने हाम्रो कोही छैन । यसकारण सन्तान प्राप्तिका निम्ति फेरि सिद्धि विनायकको सेवा गरौं ।” पतिका यस्ता कुरा सुनेर सतीले “ हवस् । त्यसै गरौं ।” भनिन् । त्यसपछि अघि झैं प्रत्येक मङ्गलवारका दिन एकाविहानै श्री गणेश मन्दिरमा गई दुबैजनाले भक्तिपूर्वक श्री सिद्धिगणेशको सेवा गर्न लागे । ती दुईबाट यसरी सेवा भएको देखी गणेशजी सन्तोष भई दर्शन दिई “हे शिवभट्ट व्राम्हण ! हे सती व्रम्हणी ! तिमीहरुका सेवाबाट म सन्तुष्ट भएँ । इच्छा अनुसारको वरदान माग ।” भनी आज्ञा गर्नुभयो । तब दुबै व्राम्हणव्राम्हणीले अञ्जली बाँधी “हे गजानन ! हजूरका कृपाले हामीलाई परिपूर्ण सम्पत्ति भयो तर त्यसको रक्षा गरिदिने कोही नभएकाले हामीले सन्तान पाऊँ” भनी विन्ती गरे । द्विज दम्पतीका यी कथन सुनी श्री सिद्धि गणेशले भने “हे व्राम्हण व्राम्हणी ! आउँदो मङ्गलवारका दिन यसैगरी यहाँ आएर मेरो पूजा गर्नु । त्यसबेलामा एउटी गौ आएर तिमीहरुका मुखमा आएर हेरिरहनेछिन् । तिमीहरुले त्यो गाईको मुख हेरी पूजा गर्नु । केहीबेरपछि ती गाईले गोब्र्याउनेछिन् । त्यो गोबरलाई भुइँमा खस्न नपाउँदै हातमा थाप्नु र घरमा लगी तसलामा राखी माथिबाट तसलैले छोपिदिनु । चारदिनपछि उघारेर हेर्नु । त्यो गोबरबाट एउटी कन्यारत्न उत्पत्ति भइरहेकी हुनेछिन् । तिमीले पूर्वजन्ममा नराखेकोले यो जन्ममा तिमीलाई पुत्र भने लेखिएको छैन ।” गणेशजीले यत्ति आज्ञा गरेपछि शिवभट्ट व्रामहण र सती व्रामहणी हर्षले गद्गद् हुँदै गणेशजीलाई शाष्टाङ्ग प्रणाम गरी आफ्ना घर फर्किए । सिद्धिदाता गणेशजी पनि उनीहरुभन्दा अघि नै अन्तध्र्यान हुनुभयो ।
त्यसको सातौं दिन जब मङ्गलवार आयो , विहानै उठी , स्नान , सन्ध्या सकी पूजाको सामग्री लिएर शिवभट्ट व्राम्हण स्त्री सहित भएर सिद्धिविनायकको मन्दिरमा गए । वहाँ पुगी श्री सिद्धिविनायकको पूजा गर्न लाग्दा एउटी गाई आई ती दुबैका मुखतिर हेरिरहिन् । श्री गणेशजीको पूजा सकिएपछि ती दुबैले गाईलाई प्रणाम गरे । त्यसै बखतमा गाईले गोब्र्याइन् । त्यो गोबरलाई भूमिमा गिर्नुभन्दा अगावै शिवभट्ट व्राम्हणले हातमा थापे । त्यसपछि गौ र सिद्धिविनायकलाई परिक्रमा गरी प्रणाम गरी ती दम्पती घर गए । श्री गणेशजीका आज्ञा अनुसार त्यो गोबर तसलामा राखी माथिबाट तसलैले छोपिदिए । चारदिनपछि छोपेको तसला उघारेर हेर्दा अर्का तसलामा भएको गोबरबाट नवजात कन्या उत्पत्ति भइरहेकी देखे ।
ती कन्या कस्ती थिइन् भने बालसूर्यको जस्तो झल्झलाकार तेज भएकी , पूर्णिमाका चन्द्रजस्तो मुखमण्डल भएकी , वासुकी नागका शरीरजस्ता हात गोडा भएकी , वाघका झैं कम्मर भएकी , हात्तीको सूँढ जस्तो जङ्घा भएकी , यस्ती अपूर्व सुन्दरी कन्यालाई देखी ती व्राम्हणव्राम्हणीले अत्यन्त खुशी हुँदै तसलाबाट झिकी सुरक्षित साथ लालनपालन गर्न लागे ।
ती बालिकालाई पियाउने दूध भएन र आउँदो मङ्गलबार विहान सिद्धिविनायकका मन्दिरमा गई अघिका झैं पूजा र प्रार्थना गरे । गणेशजीले प्रशन्न भई दर्शन दिएर “हे शिवभट्ट ! हे सती ! तिमीहरु दुबै व्रामहणव्राम्हणीलाई के को इच्छा छ भन ।” भनी आज्ञा भयो । तब शिवभट्ट व्राम्हणले अघिसरी विन्ती गरे ः–“हे विनायक ! हजूरका कृपाद्वारा सन्तान प्राप्त भयो तर त्यसलाई खुवाउन–पियाउन दूध नहुँदा निवेदन गर्न आएका छौं ।” व्राम्हणका यी कुरा सुनी श्री सिद्धिविनायकबाट “मैले त्यो बालिकालाई दूध दिएँ । घर जाँदा हुन्छ ।” भन्ने आज्ञा भयो । सती व्राम्हणीले आफ्नो स्तन निचोरी हेर्दा दूध आयो र दुबैले गणेशजीलाई शाष्टाङ्ग प्रणाम गरी खुशी हुँदै घरमा पुगे । पुग्नासाथ सती व्रामहणीले बालिकालाई दूध चुसाएर स्याहारसुसार गर्न लागिन् ।
सीताजीको उत्पत्ति हुँदा राजा जनकलाई जुन आनन्द भएथ्यो , शिवभट्ट व्राम्हण र सती व्राम्हणीलाई पनि त्यस्तै आनन्द प्राप्त भए । जातक कर्म , छैठी कर्म गरी जब एघार दिन भयो अनि वेद पढेका विद्वान व्राम्हणहरु डाकी आफ्ना शक्ति अनुसार शास्त्र र कुलाचारका आधारमा सूतक शुद्धि (न्वारान) कर्म गराए । गुरु पुरोहितले भने ः–“हे शिवभट्ट ! तपाईं धन्य हुनुहुन्छ । यी बालिका धेरै भाग्यशाली छिन् । सम्पूर्ण लोकले मान्ने छन् । गाईका गोबरबाट उत्पत्ति भएकीले यिनको नाम गोमा भयो । यो नाम लोकमा प्रख्यात हुनेछ । यिनलाई सबैले सधैं सम्झनेछन् ।” शिवभट्ट व्राम्हणले पनि गुरुहरुका आशीर्वादरुपी वचन सुनेर खुशी भई उहाँहरुलाई श्रद्धापूर्वक भोजन र दक्षिणाले सन्तुष्ट गराएर बिदा दिए । गुरुहरु पनि आ–आफ्ना आश्रममा गए ।
हे अगस्त्य मुनि ! तहाँ उप्रान्त गोमा बालिका शुक्लपक्षका चन्द्रमा झैं बढी पाँच वर्षकी हुन पुगिन् । एकदिन उनका बाबाआमाले “हे छोरी गोमा ! हामी गङ्गा स्नान गरी आउँछौं । तैंले पूजाको सामान तयार गरी अक्षता पनि केलाई राखेस् ।” भनी अह्राई ती दुबै स्त्रीपुरुष गङ्गाजीतर्फ गए ।
उनीहरुको नित्य गङ्गामा जाने र वहाँ गएर स्नान गरी हरिहरको पूजा र सुवर्ण वस्त्र र अन्न आदि दान गरेर आउने नियम थियो । ती दुई व्राम्हण दम्पतीका यस्ता सत्कर्मका पुण्य प्रभावले गर्दा अमरावती कम्पायमान हुनलाग्यो । यो देखेर डराएका इन्द्रादि तेत्तीसकोटी देवताहरु कैलाशपर्वतमा पुगी श्री महादेवका शरणमा गई विन्ती गर्न लागे ः–“ हे स्मरहर ! मत्र्यमण्डलका दक्षिणकोणमा व्रम्हपुर नामको एउटा नगर छ । त्यहाँ शिवभट्ट र सती नाम गरेका एक व्रामहण दम्पती छन् । ती दुई स्त्री–पुरुष मिली हजूरका पुत्र गणेशजीको सेवा गरेर उनलाई रिझाई अनगिन्ती धनसम्पत्ति पाएका छन् । ती व्राम्हण दम्पत्तिले त्यो धनलाई पुण्य कमाउने काममा लगाए । तिनले नित्य गङ्गामा गएर स्नान गरी हरिहरको पूजा गरी सुवर्णादि दान गरेर मात्र घरमा आउने नियम बनाएका छन् । हे प्रभु ! तिनीहरुले गरेका दानधर्मका प्रभावले अमरावती हल्लियो । हे करुणावतार ! ती व्रामहणले श्री गणेशजीका वरप्रसादले सम्पत्ति पाए पनि सन्तान पाएका थिएनन् तर फेरि पनि गणेशजी प्रशन्न हुनुभई वत्तीसै लक्षणले युक्त भएकी , परम तेजस्वी , अत्यन्त सुन्दरी एक पुत्रीको पनि वरदान दिनुभयो । हे परमेश्वर ! अब हजूरबाट हाम्रो रक्षा नभएमा हामी अमरावतीबाट पतन हुनेछौं । हे नाथ ! अब हाम्रो उद्धार गरिबक्सियोस् ।” यो सुनी महादेवले देवताहरुलाई आश्वासन दिनुभयो “ हे इन्द्रादि देवता हो ! म रक्षा गरुँला । तिमीहरु निर्धक्क भएर अमरावती फर्क ।” श्री महादेवको आज्ञा सुनी खुशी हुँदै इन्द्रादि देवताहरुले “हवस् ।” भनी शाष्टाङ्ग प्रणाम गरी आ–आफ्ना लोकतर्फ फर्किए ।
देवताहरु गए उप्रान्त श्री महादेवले इन्द्रको रक्षाका निम्ति जटाको मुकुट बनाई , भिक्षुकको रुप लिई , शरीरभर भष्म लेपन गरी , बायाँ हातमा त्रिशूल लिएर , दायाँ हातले डमरु बजाउँदै शिवभट्ट व्राम्हणका घरमा भिक्षा माग्न पुग्नुभयो । त्यसबखतमा गोमा पूजाका निम्ति अक्षता केलाउँदै थिइन् । महादेवले पनि बलेंसीमा उभिई “अलख निरञ्जन” भनी अलख जगाए । भित्रबाट गोमाले “हे भिक्षुक ! मेरा बाबा महतारी गङ्गा स्नान गर्न जानुभएका छन् । म पनि पूजाका अक्षता केलाउन थालेकी छु । यसकारण भिक्षा दिने अर्को छैन । एकैछिन पर्खनुहोला । म छिटो आउनेछु ।” भनी पर्खाएर थोरैवेरपछि भिक्षा लिएर दैलाका बाहिरपट्टि सिकुवामा आइन् र भनिन् “हे भिक्षुक ! अक्षता केलाउन लाग्दा ढिलाई हुन गयो । यो भिक्षा लिनुहोस् ।” भिक्षुकरुपी महादेवले भन्नुभयो ः–“ हे बालिके ! द्वारमा आएर अलख जगाउने भिक्षुक , योगी , संन्यासीलाई पर्खाउने तेरा पितृकुलको कुन धर्म हो ? अधि तैंले केलाएका पूजाका अक्षता दिए लिन्छु तर यो तैंले दिन ल्याएका भिक्षा मलाई चाहिँदैन ।” भिक्षुकको कुरा सुनी बालिका गोमाले पनि मुख फर्काइन् र भनिन् ः–“लिने भए यही भिक्षा लेऊ । मेरा बाबाले पूजा गर्नका निम्ति मैले केलाएका अक्षता भने म दिन्न ।”
हे अगस्त्य मुनि ! धन सम्पत्तिका मदले मात्तिएर शिवभट्ट व्राम्हण र सती व्राम्हणीले कर्तव्य बिर्सिएर पतन हुँदै जालान् भन्ने बिचारले भएभरका कुरा थाहा हुँदाहुँदै पनि लोकलाई आफ्नो महिमा बुझाउनका निम्ति भिक्षुकरुपी श्री महादेवले गोमा कन्यासित भन्नुभयो ः–“हे व्राम्हण कन्या ! तैंले आफ्ना अहङ्कारले गर्दा मैले मागेको भिक्षा दिइनस् । अब म तँलाई चारवटा श्राप दिन्छु । तेरो सातवर्षको उमेर हुँदा सत्तरी वर्षका बूढासित बिहे होस् । सिद्धिविनायकका कृपाले पाएको तेरा बाबामहतारीका सम्पत्तिको नाश होस् । तैंले नाना प्रकारका दुःख भोग्नुपरोस् । तेरा बाबाआमाको तँबाट छिट्टै बिछोड होस् ।” यत्ति भनी भिक्षुकरुपी श्री महादेव त्यहाँ नै अन्तध्र्यान भई कैलाशमा पुग्नुभयो ।
आगौं कथा अर्को अध्यायमा ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
गोमाकन्या श्रापप्राप्तिर्नामं एकोनविशोेअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
No comments:
Post a Comment