श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
अष्टदशोे अध्याय: नागलोके श्री स्वस्थानी व्रत अनुष्ठान
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
यता युद्धभूमिबाट श्री महादेवले विष्णुलाई विदा दिएर बृन्दा कहाँ पठाए उप्रान्त जालन्धरसँग युद्ध गर्न लाग्नुभयो । त्यहाँ दुवैतर्फबाट घोर घमासान सङ्ग्राम पनि पर्न गयो । उता विष्णुले वृन्दाको पतिव्रता धर्म नष्ट गरिसकेका कारण शक्ति क्षीण हुन गएका जालन्धर युद्ध गर्न नसकी आकाशमा गएर मायायुद्ध गर्न लागे । श्री महादेवले पनि आकाशमा नै गई युद्ध गर्दा जालन्धरलाई वलहीन हुँदै गएको थाहापाउनु भयो र सोच्नुभयो ः–“अव त विष्णुले वृन्दाको सत्यलाई नाश गरिदिनुभएछ ।” भन्ने बुझी श्री महादेवले आफ्ना दाहिने हातमा लिएको त्रिशूलले जालन्धरको छातीमा ताकी , तीनै आँखाबाट आगाको ज्वाला निकाली , क्रोधले पूर्ण भएर , जालन्धरमाथि प्रहार गर्नुभयो । त्यो त्रिशूल सिधै गएर जालन्धरका छातीमा लाग्यो । जसका चोटको वेदना सहन गर्न नसकी आफ्ना अन्तपुरको चोकको मध्यभागमा ठूलो आवाजकासाथ जालन्धरको प्राणरहित देह गिर्न पुग्यो ।
त्यस्तो डरलाग्दो आवाज अकस्मात सुनेपछि ‘के को शव्द हो ?’ भनी दगुरेर चोकमा पुग्दा वृन्दाले आफ्ना स्वामीको मृत शरीरलाई देखिन् । यो देखेर वृन्दाले अनेक तरहका रोदन र विलाप गर्दै भन्न लागिन् ः–“हे स्वामी ! मलाई यो अवस्थामा एक्लै छाडी हजूर कहाँ गइबक्सियो ? पापिष्ठ विष्णुका छलले गर्दा आज मैले हजूरलाई यो स्थितिमा देख्नुपर्यो । हजूरविना अब मेरो प्राण कसरी टिक्ला ? हे प्राणनाथ ! हजूर जहाँ जानुभयो म पनि त्यहीँ आउँछु ।” यत्ति भनी कपाल फिँजाई विष्णुतिर फर्किएर रुँदै र अलापविलाप गर्दै रिसाएर भन्नलागिन् ः–“हे विष्णु ! तिमीले छलकपट गरी मेरो पतिव्रता धर्म डगइदियौ । जसले गर्दा आज मेरो स्वामीको यो अवस्था भयो । तिमीले झार हुनुपरोस् , तिमीले घाँस हुनुपरोस् , तिमीले रुख हुनुपरोस् , तिमीले ढुङ्गा हुनुपरोस् , यत्ति चारवटा श्राप मैले तिमीलाई दिएँ ।” भनी जालन्धरकासाथ सती गएर वृन्दाले पनि आफ्नो प्राण त्याग गरिन् ।
हे अगस्त्य मुनि ! पतिव्रताले दिएको श्राप विष्णुलाई लाग्न गयो । झार हुनुपरोस् भनेकोमा तुलसी , घाँस हुनुपरोस् भनेकोमा कुश , रुख हुनुपरोस् भनेकोमा पिपल र ढुङ्गो हुनुपरोस् भनेकोमा शालिग्राम हुनुपर्यो । यसकारण तुलसी , कुश , पिपल र शालिग्रामलाई विष्णुको रुप मानी पूजा गर्नाले साक्षात ईश्वर नारायणको पूजा हुन्छ । पतिव्रता नारीको ठूलो महिमा छ त्यस्तै पत्नीव्रताको पनि । पतिव्रता धर्म भनेको ठूलो धर्म हो , त्यस्तै पत्नीव्रता धर्म भनेको पनि ठूलो धर्म हो । पत्नीव्रता तथा पतिव्रताले दिएको आशीष होस् वा श्राप तत्काल लाग्छ । त्यसैल यदि स्त्री पुरुष आफ्नो धर्ममा बस्छन् भने उनीहरुलाई सम्पूर्ण व्रम्हाण्डका मालिक श्री महादेवै आएपनि केही पनि गर्न सक्दैन जस्तो उदाहरणको रुपमा जालन्धर र वृन्दालाई दिन सकिन्छ । यसरी पतिव्रता वृन्दाका श्राप पाई श्री महादेवसित गई विष्णुले सारा वृत्तान्त भन्नुभयो र अब वृन्दाको श्रापलाई मोक्ष गर्न जान्छु भनेर ठूलो पश्चात्ताप मान्दै विष्णु गएर तुलसी , कुश , पिपल र शालिग्राम भएर अहिलेसम्म त्यही रुप रहिरहनु भएको छ ।
तहाँ उप्रान्त विष्णु गएपछि आफू श्री महादेव पनि साँढेमाथि चढी , व्रम्हादि देवता अघिपछि लगाई ढोल , मादल , नगरा , तुरही आदि बाजा बजाई हिँडेका गणमा पछिपछि अप्सराहरुले नाच्दै र गन्धर्वहरुले गाउँदै , फूल र अविरको वर्षा गर्दै , ठूलो उत्सवका साथ विजययात्रा गरी कैलाशमा आइपुगी मुख्यद्वारबट प्रवेश गरी भूत , प्रेत र प्रमथगणले सहित भई शिवशक्ति स्वरुपले रहनुभयो । साथमा आएका व्रम्हादि देवताहरु पनि श्री महादेवसित विदा भई आ–आफ्ना लोकमा गई परम आनन्दका साथ रहँदा भए ।
हे अगस्त्य मुनि ! यहाँसम्म स्वर्गपट्टिका कथा सुनाएँ । अब पातालपट्टिका कथा सुनाउनेछु । सबै श्रोता सहित तपाईले ध्यानपूर्वक सुन्नुहोला । कुनै एक समयमा पार्वतीको आज्ञा अनुसार अश्वत्थामा ऋषि सप्तपातालहरु मध्येको रसातल नाम गरेको लोकमा पठाइएका थिए । (यो कुरा मैले तपाईंलाई चौधौं अध्यायमा सुनाएको थिएँ ।)
रसातललाई उनले कस्तो देखे भने सूर्यको जस्तो जाज्वल्यमान तेज भएको , अनेकौं रत्नहरु जडिएर निर्माण गरिएको , सुवर्ण नै सुवर्णले बनिएको र त्यसमा अरु धेरै सम्पत्ति भरिएको शेषनाग , तक्षक नाग , कर्कोटक नाग , पद्य नाग , शङ्खपाल नाग , कुलिक नाग , बरुण नागहरुले वास गरेको , नागिनीहरुले पनि हिरामोति–मणिमाणिक्य आदि जडिएका आभूषण लगाएका , रङ्गिविरङ्गी उत्तम–उत्तम वस्त्र पहिरी ऊभन्दा ऊ राम्री , ऊभन्दा ऊ झन् राम्री भएर रहेका थिए । यस्ता–यस्ता सुन्दर महल , उद्यान , सरोवर र नागनागिनी भएका सुन्दर पुरीमा उनी पुगी शेषनागका दरवारमा गए ।
अतिथि आएको देखी शेषनागले स्वागत गरी उच्च आसनमा बसाली सम्मानपूर्वक पाद्य , अध्र्य आदि दिई नैवद्य भेटी चढाए । केहीपछि अश्वत्थामाले भने ः–“हे शेषनाग ! अहिले म सिधा कैलाशबाट आउँदैछु । भगवती पार्वतीको आज्ञा लिएर म यहाँ आएको हुँ । ‘यहाँ जो दुःखी छन् , जो रोगी छन् , जो सन्तानले रहित छन् , जसका स्त्री छैनन् , जसका पुरुष छैनन् , जो शारीरिक र मानसिक रोगका कारण अशान्त छन् ती सबलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गराई उद्धार गर्नु’ भन्ने माता पार्वतीको आज्ञा छ । यहाँ कोही त्यस्ता छन् भने मलाई बताउनुहोस् ।”
ऋषिको भनाइ बुझिसकेपछि शेषनागले भने ः– हे अश्वत्थामा ऋषि ! माता पार्वती धन्य हुनुहुन्छ । आफ्ना सन्तानको कल्याण सम्झिई तपाईंलाई पठाउनुभएको रहेछ । यति भनी धेरै टाढामा रहेको एउटा ठूलो वनतिर औंल्याउँदै शेषनागले फेरि भने ः–“ हे गुरु ! ऊ त्यो परको ठूलो वनको नजिकमा शङ्खचूड नाग , कृपादत्त नाग र धार्तराष्ट्र नागहरुका स्त्रीहरु दुःख पाएर बसेका छन् । त्यहाँ गएर तिनको उद्धार गराई दिनुहोस् । यहाँ मेरा छेउछाउमा धनका दरिद्री ता कोही छैनन् तर मनका दरिद्री भने निकै छन् । तिनलाई पनि म तपाईंका कुरा सुनाउँला । लुला , लङ्गडा , काना , खोरण्डा , रागी र लोभीहरु पनि कोही भेटे म तपाईंलाई खबर गरुँला । ”
शेषनागका यति कुरा सुनिसकेपछि अश्वत्थामा ऋषि पनि दुःख पाएका नागिनीहरुको वास पहिल्याउँदै त्यता लागे । शङ्खचूड नागकी स्त्री हीरावती , रत्नचूड नागकी स्त्री रत्नावती , कृपादत्त नागकी स्त्री मृगावतीहरु पतिपत्नीमा ठूलो प्रेमप्रिति गरी बसेका थिए तर दिन काल र दैव दशाले गर्दा ती नागनागिनीहरुलाई धेरै दुःखका दिन पनि आई लागे । कुनै दिन ठूलो सुख ऐश्वर्यमा रहेर आज ठूला दुःख र कष्टका दिन देख्नुपरेकोले घरमा अडिन नसकेर शङ्खचूड , कृपादत्त , धार्तराष्ट्र नागहरु घरको दुःख टार्न र आफ्ना स्त्रीहरुलाई सुख दिलाउन सकिन्थ्यो कि भन्ने मन गरी धन आर्जन गरेर ल्याऊँ भनी सल्लाह गरी परदेश गएका थिए । यसरी घर छोडी गएका पतिहरु कहिले धन लिएर आउलान् भनी नागिनीहरु दुःखका दिनहरु विताई आ–आफ्ना घर रुँगेर बसिरहेका थिए । धेरै दिनकाल वितिसक्दा पनि पतिहरु आइनपुगेकाले तीनैओटी नागिनीहरु “ अब कसो गरौं ? कता जाऊँ ? पतिहरुको खबर कसरी बुझौं ?” भनी मानसिक चिन्ताले दुःखी भएर घरछाडी वनमा आएर बसेका पनि वाह्रवर्ष वितिसकेको थियो । एकातिर पतिहरु नआइपुगेका र अर्कातिर झन् भन्दा झन् दुःख पाउँदै गएकाले हाड र छाला मात्र भएका नागिनीहरु साह्रै विह्वल भएका थिए ।
यता शेषनागले देखाएका वनमा जाने वाटो लिई दुःखका सागरमा डुबेका नागिनीहरुलाई खोज्दै , बोलाउँदै , अश्वत्थामा ऋषि वल्लतल्ल त्यहाँ पुगे । टाढैबाट कोही बोलाउँदै आएका सुनी नागिनीहरु आफ्ना गुफाबाट बाहिर निस्की कोही ऋषि आएको देखी वस्त्रले ढाकेको शिर झुकाई प्रणाम गरेर सोधे ः–“ हे महात्मन् ! आज हामी दुःखीनीहरुका गुफामा पाइलो पारिदिन कताबाट के कामले कष्ट गर्नुभयो ?” यो सुनी अश्वत्थामा ऋषिले भने ः–“ हे नागिनी हो ! म अश्वत्थामा ऋषि हुँ । जगज्जननी पार्वती माताको आज्ञापछि संसारमा जो दुःखी छन् , जो रोगी छन् , जो दरिद्री छन् , जो सन्तानले रहित छन् , जसका स्त्री छैनन् , जसका पुरुष छैनन् , जो शारीरिक र मानसिक व्यथाले पीडित छन् त्यस्तालाई श्री स्वस्थानी परमेश्वरीको विधि र नियमपूर्वक व्रत गराई तिनको उद्धार गर्न आएको हुँ ।”
हे अगस्त्य मुनि ! अश्वत्थामाका मुखारविन्दबाट दया , धर्म र प्रेमले भरिएका अति मीठा वाणी सुनेर नागिनीहरुले मनमा आनन्द मानी आसनमा बसाई ः–“ हे ऋषेश्वर ! हामी दुःखी पनि छौं , दरिद्री पनि छौं , पापिनी पनि छौं , हाम्रा सन्तान पनि छैनन् , पुरुष पनि छैनन् ” भनी ‘आफ्ना पतिहरु परदेश गएका , आफूहरुले दुःख पाएको , घर छोडी वनमा आएर दिन विताउँदै गरेको’ कुरा वताए ।
तिनीहरुको कुरा सुनेर हृदयभित्रबाट दया गर्दै अश्वत्थामा ऋषिले भने “हे नागिनीहरु हो ! अब तिमीहरुको अवश्य कल्याण हुनेछ । पतिहरु आइपुग्नेछन् । अनि सुखका दिन फर्किनेछन् । अब तिमीहरु एकचित्त भई सुन । सबैभन्दा पहिले अघि सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले श्री स्वस्थानी परमेश्वरीको व्रत गरी श्री महादेव स्वामी पाउनु भएकी थिइन् । अब म तिमीहरुलाई यो पुण्य विधि सुनाउँदै जानेछु । ‘ पौषशुक्ल चतुर्दशीका दिन हातगोडाका नङ काटी , भोलिपल्ट पूर्णिमाका दिनदेखि सक्नेले नित्य स्नान गर्ने , अशक्त रोगीले पञ्च स्नान गरी शरीर र मनलाई शुद्ध राखी , एकभक्त र एकचित्त रही , हविष्य (होम गर्नाका लागि तयार गरेका पदार्थहरु , व्रत यज्ञ आदिका अघिल्ला दिन उपासकले खाने सात्विक भोजनहरु , हविष्यान्न) भोजन गरी मेरा यिनै मनोकामना सिद्ध होउन् भन्ने भावना लिई , रिस , राग , छलकपट , द्वेश , जस्ता नराम्रा दोषहरु मनमा पस्न नदिई एक महिनासम्म नित्य मध्यान्हकालमा वालुवाको शिवलिङ्ग बनाई पञ्चोपचारले श्री महादेवको पूजा गर्नु , गोवरको कुण्ड बनाई अध्र्य दिनु , धूप , वाती गर्नु , श्री स्वस्थानी परमेश्वरीको कथा एक एक अध्याय गर्दै महिनादिनसम्म सुन्नु ,र जेजस्तो जुटाउन सकिएको छ पञ्चामृत , नैवद्य आदि कथाको प्रसादका रुपमा अरुलाई बाँडुनु र आफूले पनि प्रसाद लिनु । यो नित्यको क्रम गर्दै लगेर माघ शुक्ल पूर्णिमाका दिन अष्टोत्तर शय रोटी , नङले उधारेका अष्टोत्तर शय सङ्ला अक्षता , अष्टोत्तर शय यज्ञसूत्र , अष्टोत्तर शय पान , अष्टोत्तर शय कुड्का सुपारी , अष्टोत्तर शय नाना जातिका पुष्प आदि सगुन समेत नाना उपचार तयार गरी अष्टदल युक्त तामाका थालीमा राखेको आर्सीमा ॐकार लेखी त्यहीँ नै श्री स्वस्थानी परमेश्वरीको षोडषोपचारले पूजा गर्नु । सबैभन्दा पहिले गङ्गाजलले स्नान गराई पूजा प्रारम्भ गरी अरु पूजा उपचार नपुगे पनि श्रीखण्ड चन्दन , रक्त चन्दन , सिँदूर , फलफूल , धूप , दीप , नैवद्य , वस्त्र , भेटी र अध्र्य चढाउन नछुटाउनु । ध्यान गर्नु र गुरुले दिनुभएको श्री स्वस्थानी परमेश्वरीको (ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा । खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।। चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता । सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।) मन्त्रको जप गर्नु अथवा पञ्चाक्षरी मन्त्रको जप गर्नु । आरति पुष्पाञ्जली र मन्त्र जपेर नमस्कार गरेर प्रसाद ग्रहण गर्नु । अर्पण गरिएका सबै प्रसादहरुबाट अष्टोत्तर शयमा आठ रोटी , आठ अक्षता , आठ यज्ञसूत्र , आठ पान , आठ कुड्का सुपारी , आठ वेलीपुष्प , सगुन समेत झिकी आफ्ना पुरुषलाई दिनु , पुरुष नभए पुत्रलाई दिनु , पुत्र नभए मीतपुत्रलाई दिनु , मीतपुत्र पनि नभए आफ्नो नजिकका नातालाई दिनु र कोही नभए आफूले जुन मनोकामना लिएर व्रत लिएको हो सोही सिद्ध होस् भनी शालीनदी वा कुनै समुन्द्रमा मिसिन जाने जलाशय नदीमा लगी बहाइदिनु । आठ–आठ छुट्याइएकाबाट शय–शय चाहीँ आफूले लिनु । पूजा सकेका दिन शाङ्गेका दिन त्यो रातभरि जागरण बसी भजन , कीर्तन र नाचगान गर्नु । भोलपल्ट नदी , तलाउ , मन्दिर , देवीस्थान वा देउरालीमा लगी फूलपाती सेलाउनु ।’ यसो गर्नाले तिमीहरुको दुःख अवश्य नाश हुनेछ र हे नागिनीहरु हो ! तिमीहरुका पतिहरु पनि आइपुग्नेछन् अनि धन ऐश्वर्यले परिपूर्ण हुनेछ । यसका सन्देह छैन । ”
अश्वत्थामा ऋषिले यति भनिसकेपछि नागिनीहरुले अत्यन्त खुशी भई भने ः–“ हे गुरु ! हामी स्त्री जातिले तपाईंले भन्नु भए झैं पूर्ण गर्न सकौंला के ? बरु तपाईं आफै बसी यो पुण्यदायक पवित्र श्री स्वस्थानी परमेश्वरीको व्रत गराई हामी अभागिनीहरुको उद्धार गरिदिएर जानुहोला ।” यति भनी अश्वत्थामा ऋषिलाई श्रद्धापूर्वक आफ्ना घरमा लगी गुरु मानी राखे । केही समयपछि पौषशुक्ल चतुर्दशीको दिन आइपुग्यो र सो दिनदेखि व्रतको आरम्भ गराई एक महिना पूर्ण भएपछि माघशुक्ल पूर्णिमाका पवित्र तिथिमा पूजाका सम्पूर्ण सामग्री तयार पारी श्री स्वस्थानी परमेश्वरीको पूजा गराई पूजाको विसर्जन हुनुअघि अश्वत्थामा ऋषिले भने ः–“ हे नागिनी हो ! अब अध्र्य , ध्यान , जप , स्तोत्र पाठ गर ।” नागिनीहरुले पनि अह्राए अनुसार गरेर मनमनै प्रार्थना गरे । “ हे ईश्वरी ! हामीले गरेका पूजापाठबाट सन्तुष्ट हुनुहोस् । हामीलाई यो दुःखका सागरबाट पार गराई दिनुहोस् ।” एकचित्त र पवित्र मन गरी बसेका नागिनीहरुका भक्ति देखी प्रशन्न भएकी श्री स्वस्थानी परमेश्वरी अकस्मात हजार सूर्यको जस्तो तेज लिएर पूर्व दिशाबाट प्रत्यक्ष प्रकट हुनुभयो र “हे भक्त हो ! तिमीहरुले गरेका अनुष्ठानबाट म सन्तोष भएँ , जे इच्छा छ वरदान माग ।” भन्नुभयो ।
परमेश्वरीको आज्ञा सुनी नागिनीहरुले “हे माता ! हाम्रो दुःखकष्ट जाओस् । हाम्रा स्वामीहरु चाँडै घर आइपुगुन् ।” भनी वर मागे । परमेश्वरीले तिम्रो इच्छा पुगोस् भनी ‘तथास्तु’ भनी वरदान दिई अन्तध्र्यान हुनुभयो । जब नागिनीहरुले प्रसाद झिक्नै लागेका थिए , त्यसै बखतमा श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले नागहरु आइपुगे । नागिनीहरुले आफ्ना पतिहरुलाई धेरैपछि देख्न पाउँदा मन अति विभोर गरी ‘धन्य ! धन्य ! श्री स्वस्थानी परमेश्वरी !’ भनी चढाइएका प्रसादहरुबाट आठ अक्षता , आठ वेलीपुष्प , आठ रोटी , आठ सूत्र , आठ पान , आठ कुड्का सुपारी , सगुन समेत आ–आफ्ना पुरुषहरुलाई दिई ढोगीदिए । अश्वत्थामा ऋषिलाई पनि श्रद्धापूर्वक भोजन दक्षिणा दिई सन्तुष्ट गराए । पूजामा आएका अरु पनि श्रद्धालु भक्तहरु , दुःखी , दरिद्री , पुरुष नहुने , स्त्री नहुने , सन्तान नहुने , अपाङ्ग , रोगी , शारीरिक मानसिक रोगले व्याकूल भएका र मनका दरिद्रीहरु सहितले श्री स्वस्थानी परमेश्वरी माताको प्रसाद पाएर सबै सन्तापहरुबाट दूर रही धन्य ! धन्य ! भए ।
यसरी लोकको उद्धार गराएर अश्वत्थामा ऋषि पनि नाग–नागिनीहरु सित बिदा भई आफ्ना आश्रममा गए । नागिनीहरु पनि आ–आफ्ना स्वामीहरुका साथ त्यस दिनदेखि ठूलो ऐश्वर्य प्राप्त गरी परम आनन्दले रहन लागे । हे अगस्त्य मुनि ! श्री स्वस्थानी परमेश्वरी माताको महिमा अपार छ ।
आगौं कथा अर्को अध्यायमा ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
नागलोके श्री स्वस्थानी व्रत अनुष्ठानं नाम अष्टदशोेअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
No comments:
Post a Comment