Thursday, January 28, 2016

Shree Swasthani Brata Katha Episode 17 (सप्तदशोे अध्याय: वृन्दा प्रतिपदा धर्महरण)

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

सप्तदशोे अध्याय:  वृन्दा प्रतिपदा धर्महरण

श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
हिमालयका उत्तरपट्टि रहेको मानसरोवरमा श्री महादेव राजहंशका राजाभई असंख्य हाँसका वथान साथमा लिएर जलक्रिडा गरिरहनुभएको थियो । त्यसै बखतमा विष्णुलाई साह्रै बेग गरी अकस्मात आएको देखी “हे विष्णु ! यस्तो बेगसित किन आउनुभएको ? तपाईंलाई कुन कुराको दुःखकष्ट आइपर्यो ?” भनी करुणावतार श्री महादेवबाट आज्ञा भयो । भगवान विष्णु पनि हतारसाथ गरुडबाट ओर्ली श्री महादेवलाई शाष्टाङ्ग दण्डवत प्रणाम गरी जालन्धरले पार्वतीलाई छल्न कैदाशमा गएको वृत्तान्त सुनाउनुभयो र “हजूर झट्टै कैलाश सवारी होस् म त्यो जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्म डगाई आउँछु” भनी विन्ती गर्नुभयो ।
श्री महादेवले विष्णुको कुरा सुनी राजहंश्को रुपलाई छोडेर आफ्नो रुपलिई क्रोधले राताराता आँखा पारी भन्नुभयो ः–“हे विष्णु ! म अब कैलाशमा जान्छु , तपाईं जालन्धरका घरमा गई त्यसकी पत्नी वृन्दाको धर्म डगाई आउनुहोस् । म त्यो पापी जालन्धरलाई नमारी छोड्नेछैन ।” यति भनी क्रोधले युक्त भई पाखुरा निमोठी त्यहाँबाट अन्तध्र्यान हुनुभई कैलाशमा पुगी पार्वती लुकिरहेको ठाउँमा जानुभयो । श्री महादेव आउनुभएको देखेपछि स्वामीका पाउ धोई ढोगेर जालन्धर आएको वृत्तान्त सुनाउनुभयो । सबै कुरा सुनिसकेपछि श्री महादेवले “हे पार्वती ! त्यो दुष्टकी स्त्री वृन्दाको सत्य डगाउन श्री विष्णु जानुभएको छ । विष्णु आउनासाथ युद्ध गरी म त्यो जालन्धरलाई मारुँला ।” भन्नुभयो । त्यसपछि श्री भवानी र श्री शंकर कैलाशमा आनन्दपूर्वक रहन लाग्नुभयो ।
हे अगस्त्य मुनि ! मानसरोवरबाट श्री महादेवसित विदा भै जानुभएका श्री विष्णु जालन्धरको भेष लिई अन्तपुरमा जानुभयो । वृन्दाले पनि जालन्धर रुपधारी विष्णु आएको देखी स्वामी अइपुग्नुभयो भनी ढोकामा आई , पाउ धोइदिएर भित्र कोठामा लगी भन्न लागिन् ः–“हे स्वामी ! पार्वतीलाई छल गर्न भनी जानुभएथ्यो , सो के भयो ? अनि मभन्दा पार्वती कत्तिकी राम्री लाग्यो ?” वृन्दाको कुरा सुनेर जालन्धर रुपी विष्णुले भन्नुभयो ः–“ हे वृन्दे ! पार्वतीलाई छल गर्न नसकिने रहेछ । किनकी पार्वतीको घरभित्र जाने ढोकाका द्वारेहरुले को आयो  ? कस्तो आयो ? पहिले नै चिन्दा रहेछन् । मैले पनि ती घोरमूर्ति द्वारपाललाई देख्दै डराएर त्यहीँबाट नै फर्किएँ ।” जालन्धर भेषधारी श्री विष्णुको त्यो कुरा सुनेर वृन्दाले शंका गरी “यी मेरा पति होइनन् । अवश्य नै यो कुनै अर्कोले मलाई छल गर्न आएको हो” भनी ध्यानदृष्टिले बिचार गरेर हेरिन् र ‘विष्णुले जालन्धरको रुप लिई छल गर्न आएको’ प्रष्ट बुझिन् । अब मैले कुनै युक्ति गर्नुपर्यो भनी हाउभाउ र कटाक्षद्वारा विष्णुलाई वशमा गराई भन्न लागिन् ः–“ हे स्वामी ! म एउटा भन्छु तपाईं मान्नुहुन्छ ?” वृन्दाको कुरा सुनी विष्णुले पनि “तिमीले जे भन्छ्यौ म अवश्य मान्नेछु ।” भनी वाचा गर्नुभयो । अनि वृन्दाले “ म फर्केर नआएसम्म यहीँ बसिरहनुहोला ।” भनी ढोका थुनेर आफू अर्कै घरमा गएर बसिरहिन् ।
वृन्दा  आज आउलिन् , भरे आउलिन् भनेर बाटो हेर्दा हेर्दै चारदिन वितेर गए । तैपनि नआउँदा वाचामा हारेका विष्णु विवश भएर त्यो कोठामा बसिरहे । यता कैलाशमा श्री महादेवजीले विष्णु फर्केर नआएकोले ध्यानदृष्टिले विचार गर्नुभयो र पार्वतीसित “हे पार्वती ! वृन्दालाई छल्न जानुभएका विष्णुलाई ता वृन्दाले नै पो छलेर कोठामा थुनराखेको रहेछ । अब छुटाएर ल्याउँछु ।” भनी मायाद्वारा सोह्रवर्ष उमेरको एक अति राम्रा युवक भिक्षुक सृष्टि गरी “वृन्दाले कोठाभित्र थुनेर राखेका विष्णुलाई भिक्षामा मागी ल्याऊ” भनी आज्ञा भयो ।
यसरी आज्ञा पाएका ती भिक्षुक त्यहाँबाट अन्तध्र्यान भएर जालन्धरका घरमा भिक्षा माग्न पुगे । बलेसीबाट “भिक्षान्देही ! भिक्षान्देही !!” को आवाज आएको सुनी वृन्दाले झ्याल खोली हेरिन् । अत्यन्तै राम्रो युवक भिक्षार्थी योगीलाई देखेर “यो योगी कत्ति राम्रो रहेछ । आजसम्म यत्ति राम्रो योगी मैले देखेकी रहिनछु । हाम्रा घरमा यो कहिल्यै आएका छैनन् । यस्ता नयाँ योगीलाई त अवश्य भिक्षा दिनुपर्छ ।” भनी “हे योगी ! के माग्ने विचारले आउनुभयो ? भन्नुहोस् ।” भनिन् । वृन्दाको प्रश्न सुनी योगीले “ हे वृन्दे ! केही माग्ने विचारले आएको हुँ । दिन्छ्यौ भने माग्छु । नत्र के माग्नु ?” भने । मैले दिँदा हुने र मसित भएको जे मागे पनि दिनेछु ।” भनी वृन्दाले वाचा गरिन् । त्यत्ति सुनेपछि भिक्षुक योगीले “हे वृन्दा ! मलाई अरुथोक केही चाहिएको छैन । तिमीले कोठामा थुनेर राखेको जे छ म त्यसैलाई माग्छु ।” भनी मागे । यो सुनी वृन्दाले मनमनै सोचिन् ः–“अब कसो गरुँ होला ? दिऊँ भने स्वामी आउँदा के देखाउने ? नदिउँ त वाचामा हारिसकेँ । यो योगीले छलपूर्वक वाचा गरायो । यस्तो एकदिन वाचामा हार्नुभन्दा दिनु नै योग्य छ” भन्ने ठानी आफूले कोठाा थुनिराखेको जालन्धर रुपी विष्णुलाई बाहिर ल्याएर योगीलाई दिइन् ।
विष्णुलाई भिक्षामा पाएका ती योगी बाहिर निस्किएर त्यहँबाट अन्तध्र्यान भई कैलाश पुगी श्री महादेवजीका सामु सारा वृत्तान्त सुनाए ।  विष्णुले पनि वृन्दाबाट छुटकारा पाएपछि बाहिर आई मनमनै “बृन्दाको सत्य डगाउन आएकोमा आफै थुनामा बस्नुपर्यो , अब महादेवले के ठान्नुहुन्छ होला ?” भनी सन्ताप मानी गरुडमा चढी योगीका सँगसँगै कैलाशमा पुग्नुभयो । यसरी श्री विष्णु गरुडमा सवार भै आउँदा आएका शब्दबाट अचेत रहेका जालन्धर मूर्छाबाट बिउँझी “यत्ति ठूलो के को शब्द रहेछ ?” भनी चारैतिर हेर्न लागे । त्यसबेला गरुडमा चढी आकाशमार्गबट कैलाशतिर विष्णु आउँदै गरेको देखेर “पार्वतीलाई छल्न कठिन रहेछ । अब यहाँ धेरैबेर रहनु उचित छैन ।” भनी जालन्धर अन्तपुरतिर गयो ।

त्यसपछि भगवान विष्णु कैलाशमा पुगी शिवपार्वतीलाई प्रणाम गरी एकातिर उभिनुभयो । विष्णुलाई देखेर श्री महादेवले सोध्नुभयो ः–“हे विष्णु ! वृन्दालाई छल्न जानुभएथ्यो । यत्तिक्का दिनसम्म के गरिरहनुभएको ? वृन्दाको सत्य डगाउने कुरा के हो ?” यो सुनी श्री विष्णुले भन्नुभयो ः–“हे जगदीश्वर ! हजूरको आज्ञा लिएर म त्यहाँ गएँ । तर म आफै वृन्दाका छलमा परेँ । ‘म नफर्कुञ्जेलसम्म यो कोठामा बसिरहनु’ भनी मलाई वाचाले बाँधी कोठाभित्र थुनेर वृन्दाचाहिँ बाहिर निस्किई । ऊ आउँली भनेर पर्खंदा पर्खंदै चारदिन विते र पनि वाचामा हारेको अनि थुनामा परेको हुनाले आउन सकेको थिइन । भाग्यले एउटा योगीको साथमा छोडिदिँदा तपाईंको दर्शन गर्न आउन पाएँ ।”श्री विष्णुका यी वचन सुनी श्री महादेवले व्रम्हा , विष्णु सहित इन्द्रादि तेत्तीसकोटी देवता , यक्ष , गन्धर्व , किन्नर , नाग , नन्दी , भृङ्गी , प्रमथगण , भूत , प्रेत जम्मा गरी पापिष्ठ जालन्धरलाई मारी आऊ भनी आज्ञा भयो र शिवको आज्ञा शिरोपर गरी सम्पूर्ण देवताहरु जान तयार भए ।
त्यसै बखतमा श्री महादेवले नारद ऋषिलाई डाकी भन्नुभयो ः–“हे नारद ! अन्तपुरमा गएर जालन्धरसित भन्नु कि ‘तँसित युद्ध गर्न देवताहरु आउने भएका छन् । यसर्थ तँ पनि आफ्नो तयारी गर् ।’ ” यत्ति श्री महादेवबाट आज्ञा पाएर नारदजी जालन्धरको घर गए । उता मूर्छाबाट बिउँझेपछि जालन्धर पनि कैलाशबाट फर्कि सिधै घर गए ।
स्वामी आएको देखी वृन्दाले गोडा धोई , पानी अचाई भित्र लागेर भन्न लागिन् ः–“ हे स्वामी ! पार्वतीलाई छल गर्छु भनी जनुभएको काम के भयो ?” यो सुनी जालन्धरले भन्यो ः–“हे प्रिये ! श्री महादेवको भेष लिई जब म कैलाशमा पुगेँ , मलाई देखी पार्वतीले सुनको कमण्डलुमा जल लिई मेरा गोडा धुन ढोकामा आइन् । त्यत्तिबेला मैले उनलाई देखेँ , ‘राम्री भन्छ्यौ भने पार्वती बाहेक अरु यो पृथ्वीमा छँदैछैन ।’ उनको मुहार देख्नेवित्तिक्कै मेरो ता होश नै हराएछ । मूर्छा परी धर्तीमा गिरेछु । पछि चेष्टा भयो र उठेँ । अनि चारैतिर हेरेँ । त्यसबखतमा पार्वती कता गइछिन् थाहाभएन र फर्की आएँ ।” पतिका कुरा सुनी वृन्दाले भनिन् ः–“ हे प्रिय ! तपाईं नभएका बेला विष्णुले तपाईंको रुप धारण गरी मलाई छल गर्न आएका थिए र मैले चिनेर थुनेर राखेकी थिएँ । केही दिनपछि एउटा अपूर्व सुन्दर युवक योगी आएर मलाई वाचावन्धन गराई कोठामा लुकाएर राखेका विष्णुलाई माग्दा दिएर पठाएँ ।” वृन्दाका कुरा सुनी अत्यन्त क्रोधित भएका जालन्धरले ओठ कमाउँदै भन्यो ः–“हे वृन्दे ! त्यसो हो नै भने म अब पार्वतीलाई छल गरी छोड्छु , फेरि जान्छु । यति भनेर बाहिर निस्किसक्दा महादेवले पठाएर गएका नारद ऋषि टुप्लुक्क आइपुगे ।
जालन्धरलाई देखी नारदले भने ः–“हे जालन्धर ! यस्तो हतारहतार कहाँ जान निस्क्यौ ?” जालन्धरले पनि “भिक्षा माग्न जान लागेको” भने । त्यसपछि नारदजीले भने ः–“ हे जालन्धर ! मनलाई साक्षी राखी बोल । यस्तो मिथ्या कुरा किन बोल्यौ ? तिमी कहाँ जान लागेका हौ ? केका लागि जाँदैछौ ? त्यो सबै म जान्दछु । पार्वतीलाई छल्छु भन्ने कुरा तिम्रो मनमा छ । तर हेर ! तिमीसित युद्ध गर्न वहाँबाट व्रम्हा , विष्णु , इन्द्रादि सकल देवता आउन तयार भैरहेका छन् । यो कुराको खबर लिएर म यहाँ आएको हुँ । अब अरु कुरा सोच्ने र अन्त जाने तिम्रो बेला छैन । युद्धमा जान के के चाहिने हुन् ? त्यो तयार गर्न पछि लाग ।”
नारद ऋषिले भनेका यी कुरा सुनी जालन्धर फरक्क फर्किएर घरभित्र पसी नारदले भनेका सबै कुरा वृन्दाका सामु भने । केहीबेरपछि “हे वृन्दा ! अब म लडाईं गर्न जान्छु । घरको रक्षा गरी राम्रोसँग बसेस् ।” भनी हातमा त्रिशूल लिई , आफ्ना सेना जम्मा गरी देवताहरुसँग युद्ध गर्न भनी कैलाशतर्फ जाँदा भए । नारदजी पनि जालन्धरलाई युद्धको खबर दिइसकेर फर्किएर कैलाश पुगी सबै कुरा श्री महादेवमा विन्ती गरे । नारदजीका कुरा सुनी श्री महादेवले व्रम्हा , विष्णु र इन्द्रादि देवताहरुलाई दलबल सहित युद्धका निम्ति बिदा दिनुभयो । ती  सम्पूर्ण देवताहरुले महादेवबाट विदा पाएपछि नाना तरहका वाजा बजाउँदै र सिँहनाद गर्दै कैलाशबाट  युद्धका निम्ति प्रस्थान गरे ।
दुबैतर्फका सेनाको बाटामा भेट भयो । दुबैतर्फबाट कल्लोल शब्द गरी आ–आफ्ना शस्त्रास्त्रहरु प्रहार गर्न लागे , महासङ्ग्राम प्रारम्भ भयो । देवताले छोडेका अनेकौं शस्त्रास्त्रका प्रहारले जालन्धरलाई तिलले हिर्काएसरि पनि भएन । आफूले प्रहार गरेका शस्त्रास्त्रहरुबाट कुनै काम नभएको देखी देवताहरु दिक्क मान्दै आ–आफ्ना शस्त्रास्त्र लिई एकातिर गई चूप लागी बसे । त्यो देखेर विष्णुले रिसले चूर भएर पाञ्चजन्य शंख बजाई , कौमोदकी गदालाई घुमाएर प्रहार गर्नुभयो । त्यसले पनि जालन्धरलाई छुँदै छोएन । त्यसपछि क्रोधले आकूल भएका इन्द्रले हातमा रहेका वज्र प्रहार गरी हेरे । त्यसले पनि केही गर्न सकेन । विष्णुका कौमोदकी गदा , इन्द्रको वज्रजस्ता आयूधहरुलाई जालन्धरले तृण जत्ति पनि नठानी चूपचाप उभिइरहे ।
कसैगर्दा पनि केही सीप नलागेको देखेर लक्ष्मीपति नारायणले श्री महादेवमा गई विन्ती गर्नुभयो ः– “हे भव ! हामीले जालन्धरलाई मार्न असमर्थ भयौं । तपाईं नै यसका निम्ति सामथ्र्यवान हुनुहुन्छ । यसकारण तपाईंले लडाईं गर्न अधि सर्नुपर्यो ।” भनी निवेदन गर्दा श्री महादेवजीबाट आज्ञा भयो ः–“ हे विष्णु ! जालन्धरकी पत्नी वृन्दाका महान पतिव्रता धर्मका प्रभावले यिनलाई कसैले मार्न सक्दैन । यसकारण फेरि पनि तपाईंले जालन्धरको रुप धारण गरी अन्तपुरमा गएर मायाले छोपी छलद्वारा वृन्दाको पतिव्रता धर्म नष्ट गराइदिनुहोस् । अनि यता म जालन्धरलाई मार्नेछु ।
श्री महादेवको आज्ञा सुनी हवस् भनी विदा भई जालन्धरको भेष लिएका विष्णु वायाँ हातमा त्रिशूल लिई , दाहिने हातले डमरु बजाउँदै अन्तपुरमा पुग्नुभयो । स्वामी आउनुभयो भन्ने विश्वासमा परेकी वृन्दाले हत्तपत्त गोडा धोई , भित्र लगी आसनमा बसाली , विन्ती गर्न लागिन् ः–“ हे स्वामी ! महादेवसँगको लडाईं के भयो ? के गरेर आउनुभयो ?” वृन्दाको कुरा सुनी जालन्धररुपी विष्णुले भन्नुभयो ः–“हे प्रिये ! आजै युद्ध कहाँ सकिन्छ ? हारजितको टुङ्गो छैन । युद्धमा साह्रै थाकेको हुनाले विश्राम गर्न आएको हुँ । साह्रै भोक लागेको छ । खानेकुरा ल्याऊ ।” यस्तो कुरा सुनी वृन्दाले मीठा–मीठा खानेकुरा ठीक पारेर खुवाइन् । रातपरेपछि वृन्दासित अनेक तरहका वार्तालाप गरी आफ्ना मायाले छोपी वृन्दाको पतिव्रता धर्म नष्ट गराई रात वितेर उज्यालो भएपछि जालन्धरको रुप छोडी शंख , चक्र , गदा , पद्य लिएका विष्णुले आफ्नो असली रुपको दर्शन दिनुभयो ।
योदेखी वृन्दा अत्यन्त रिसाएर “ हे पापिष्ठ विष्णु ! तिमीले छल गरी मेरो पतिव्रता धर्म नष्ट गरिदियौ ।” भनिन् । वृन्दाले त्यस्तो भन्नासाथ विष्णुले भन्नुभयो ः–“हे वृन्दा ! श्री महादेवले जालन्धरलाई हिजो नै मारिसक्नुभयो । अब तिमीले मजस्तो बैकुण्ठको मालिकलाई पति रुपमा पाएपछि फिक्री किन गरिरहन्छ्यौ ? तिम्रा पति जालन्धरको मृत्यु भएको खबर केहीवेरमा नै आइपुग्नेछ ।” यसरी विष्णु भगवानले  वृन्दालाई सम्झाई बुझाई अनेकौं सान्त्वना दिनुभयो ।
आगौं कथा अर्को अध्यायमा ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
वृन्दा पतिव्रता धर्महरण नाम सप्तदशोेअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
         गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
        यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
        बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
        नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

No comments:

Post a Comment