Thursday, January 28, 2016

Shree Swasthani Brata Katha Episode 16 (षोदशोे अध्याय: श्री विष्णु मानसरोवर गमन)

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

षोदशोे अध्याय :–  श्री विष्णु मानसरोवर गमन

श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
तहाँ उप्रान्त शिवजीलाई फेरि वन विहार गर्ने इच्छा भयो र मृगको रुप लिई कसैले थहा नपाउने गरी श्लेष्मान्तक वनमा गएर मृग–मृगिनीका झूण्डमा मिस्सिएर परम आनन्दले रहन लाग्नुभयो । उता कैलाशमा पार्वतीले श्री महादेवलाई नदेखी अनेक ठाउँमा खोजी गर्दा कतै भेट्न सक्नुभएन र हारमानी मनमा सोच्न लाग्नुभयो ः–“ श्री महादेवले अघि पनि मलाई यसैगरी छलेर दुःख दिनुभएथ्यो । अब फेरि कहाँ जानुभयो ?” यसरी सुर्तामा परेकी पार्वतीले ध्यान दृष्टिले हेर्दा श्लेष्मान्तक वनमा फेरि पनि गएर मृग रुप भई वन विहार गरिरहेका श्री महादेवलाई थाहा पाई पार्वती आफू पनि वागमती किनारमा जानुभयो र कष्टपूर्ण तपस्या गरिरहनुभो ।
व्रम्हा विष्णु र इन्द्रादि देवताहरुले शिवपार्वती दुबैलाई नदेखी जहीँतहीँ खोजी गर्न लागे । कहीँ पनि नभेटी हार मानी फर्किएर आउँदै गर्दा वागमतीका किनारमा तपस्या गरी बसिरहनुभएकी पार्वतीलाई देखी प्रणाम गरी विन्ती गर्न लागे ः–“ हे जगदीश्वरी ! हजूर र श्री महादेव कैलाशमा नहुनाले व्रम्हाण्ड नै शून्य जस्तै भयो । हामीमाथि करुणा राखी श्री महादेव कहाँ हुनुहुन्छ बताइदिइबक्सियोस् अनि हजूर पनि किन यस्ता एकान्त ठाउँमा राज होइबक्सिएको हो ? हे माता ! आज्ञा होओस् ।” देवता सहित व्रम्हा , विष्णुबाट  भएका यी कुरा सुनी श्री पार्वतीले आज्ञा गर्नुभयो ः–“ हे व्रम्हा , विष्णु प्रभृतिदेव वृन्द ! श्री महादेव यहाँ कतै आउनुभएको छ र ! म वहाँ कै आराधना र तपस्या गरी यहाँ बसेकी छु । श्लेष्मान्तक वनका नैऋत्य कोणमा एउटा ठूलो पोखरी छ । त्यसैको वरिपरि वनमा श्री महादेव मृग रुप लिई वनक्रिडा गरिरहनुभएको छ । त्यो मृग सुवर्ण झैं वर्ण , तीन नेत्र र एक सिँग भएको मृगका वथानको सबैभन्दा ठूलो देखिन्छ , तिमीहरु गएर पत्तो लगाऊ अनि त्यहीँ नै श्री महादेवको दर्शन पाउँला ।”
श्री पार्वती माताको यस्तो कथन सुनी व्रम्हा , विष्णु र इन्द्रादि देवताहरुले त्यो ठाउँमा गई वरपर खोजी गरे । तर श्री महादेवको केही पत्ता लाग्न सकेन । जव व्रम्हा, विष्णु र इन्द्र मिलेर अनेक स्तुती गर्न लागे , तब धेरै मृगका वगालका माझमा पार्वतीले बताउनुभए जस्तो अत्यन्त राम्रो , अरुभन्दा धेरै ठूलो , बडो शोभायमान मृग देखापर्यो । जसरी नीलो आकाशमा तारागणका माझमा पूर्ण चन्द्रको शोभा देखिन्छ त्यस्तै धेरै मृगका वथानका माझमा रुद्र मृगको शोभा देखिन्थ्यो । टाढैबाट चिन्न सकिने त्यो मृगलाई तीनैजनाले एकैचोटी देखी नजिकमा गएर अनेक स्तुती गर्न लागे । “ हे ईश्वर ! कैलाश सून्य भएको धेरै काल भयो । हे करुणामय ! हामीमाथि दया राखी दर्शन बक्सियोस् ।” यस्ता तरहले अरु पनि धेरै स्तुती गरिरहेका व्रम्हा , विष्णु र इन्द्रलाई देखी रुद्र मृग उफ्रिएर केही पर पुगी उभियो । त्योदेखी विष्णुले ः–“ हे व्रम्हा ! हे इन्द्र ! हामीबाट स्तुती गरिएका श्री महादेवमा चैतन्य आउन सकेन । यसकारण अब हामी तीनजनाले तीनतिरबाट छेकेर समाऔं ।” भन्नुभयो । “ लौ त्यसै गरौं ” भनी व्रम्हा र इन्द्रले पनि सहमती दिनुभयो र तीनतिर घेरा हाली रुद्र मृगलाई समाती छोडे । समाउन खोज्दा तीनैजनाको हात एउटै सिँगमा पुग्यो ।  सिँगका फेदमा विष्णुले , माझमा व्रमहाले र टुप्पोमा इन्द्रले समाए तर मृग भने अन्तध्र्यान भए ।
सिँग मात्र तीनजनाको हातमा र बलपूर्वक समाएका हुनाले सिँग भाँचिएर तीन टुक्रा भई तीनजनाका हातमा एक्एक टुक्रा परे । त्यस्तो भएको देखी तीनैजनालाई ठूलो पश्चात्ताप भयो । “हामीले ठूलो अपराध गर्यौं  अब कसो गरौं ।” भन्दै तीनैजना एक ठाउँ बसी अपराधको क्षमा माग्दै  श्री महादेवजीको अनेक स्तुती गर्न लागे । स्तुतीबाट श्री महादेव प्रशन्न भई ज्योति स्वरुपको दर्शन दिनुभयो र व्रम्हा , विष्णु र इन्द्रले अति हर्ष मानी शाष्टाङ्ग प्रणाम गरे । तब श्री महादेवले ः–“ हे व्रम्हादि देवता हो ! तिमीहरुको स्तुतीदेखि म सन्तोष भएँ । इच्छा अनुसारको वरदान माग” भन्नुभयो  । श्री महादेवजीको आज्ञा सुनी “ हजूरको भक्ति हाम्रा हृदयमा सदासर्वदा रहिरहोस् ।” भनी विन्ती गरे । श्री महादेवजीले पनि ‘तथास्तु’ भनी वरदान दिनुभयो ।
फेरि व्रम्हादि देवताले ः–“ हे ईश्वर ! हजूरका सिँगलाई हामीले तीनटुक्रा पारेकोमा हाम्रो अपराध क्षमा होस् ।  अनि अब यी भाँचिएका सिँगका टुक्रा कहाँ राखौं त्यो पनि आज्ञा होस् ।” भनी विन्ती गरे । यो सुनी श्री महादेवले त्यो मेरो सिँग तीन टुक्रा भएकोमा तिमीहरुलाई केही अपराध लाग्नेछैन । ” अनि श्री महादेवबाट “इन्द्रका हातको स्वर्गमा , ब्रम्हाका हातको मत्र्यलोकमा गोकर्ण भन्ने ठाउँमा र विष्णुका हातको पातालमा लगेर स्थापना गर” भनेर आज्ञा दिनुभयो । व्रम्हा , विष्णु र इन्द्रले श्री महादेवका आज्ञा अनुसार त्यो सिँगका तीन टुक्रालाई यथास्थानमा स्थापना गरी आ–आफ्ना लोकमा जाँदा भए ।
व्रम्हादि देवताहरुले श्री महादेवजीलाई शाष्टाङ्ग प्रणाम गरी विदा भएर गए उप्रान्त श्री महादेवजी पनि आफ्नै रुप लिई वागमती किनारमा गई पार्वतीलाई काखमा लिई अन्तध्र्यान हुनुभई कैलाहपर्वतमा जानुभयो । वहाँ गएर भूत , प्रेत , पिशाच , नन्दी , भृङ्गी , चतुर्षष्ठी योगिनी र प्रमथगण समेत भएर आनन्दले रहनुभयो ।
हे अगस्त्य मुनि ! मृगका सिँगको माझको टुक्रा गोकर्णमा स्थापना भयो । तहाँ उप्रान्त नैऋत्य कोणको लंकाबाट दश मुख भएको राजा रावण नित्य गोकर्णमा आई महादेवका चरणमा दण्डवत गरी नाचगान गरी , नगरा–डमरु आदि बजाई तपस्या गरी जान्थ्यो । केहीदिनपछि एकदिन श्री महादेव विष , भाङ , धतुरो र गाँजा खाई अचेत भएर रहेका बखतमा सधैं झैं रावण आईपुगेर दण्डवत गरी मृदङ्ग बजाएर नाचगान गर्न लाग्यो । यो देखेर भगवान आषुतोष प्रशन्न हुनुभई ः–“ हे दशग्रीव रावण ! जे इच्छा छ त्यही वर माग ।” भन्नुभयो । रावणले हात जोडी “ हजूरका कृपाले मलाई सबैथोक परिपूर्ण छ । म के मागुँ ?” भनी विन्ती गर्दा श्री महादेवजीले “ एकथोक नमागी सुख पाउँदैनस् । माग्नैपर्छ ।” भनी आज्ञा भयो । श्री महादेवबाट जब दाहोर्याएर वर माग भन्ने आज्ञा भएथ्यो रावणका मनमा सकल लक्षणले युक्त भएकी श्री महादेवका काखमा बसेकी पार्वतीलाई नै मागुँ भन्ने बिचार उब्ज्यो । अनि “अरुथोक सबै कुरा त मसँग छ । हे ईश्वर ! वरदान दिने नै हजूरबाट इच्छा भएमा हजूरका काखमा बसेकी पार्वती मलाई बक्सियोस् ।” रावणका यी कुरा सुनी श्री महादेवले ‘लैजा’ भनी पार्वती दिनुभयो ।
तब रावणले जगत्माता पार्वतीलाई बोकी श्री महादेवसित विदा भई नैऋत्य दिशातिर लम्क्यो । उतिबेलै यो कुरा वैकुण्ठमा श्री विष्णुले थाहा पाई “ ओहो ! यो के विपरीत र अनर्थ हुन आँट्यो ?” भन्दै तत्काल वायुको वेगभन्दा पनि छिटो आई आफ्ना मायाले मोहिनी रुप धारण गरी रावणका सामु गई सोध्नुभयो “ हे महापुरुष ! तपाईं को हुनुहुन्छ ? कहाँबाट आउनुभएको ? तपाईंले पिठ्युँमा बोकेर ल्याएकी स्त्री को हुन् ? किन यिनलाई ल्याउनुभएको ?्र अनि कता जान लाग्नुभएको हो ? ” यो सुनी रावणले भन्यो ः–“ हे सुन्दरी ! मलाई लङ्काका राजा रावण भनी जान । मैले कैलाशपति महादेवको तपस्या गरेको थिएँ । जसबाट सन्तुष्ट भएर वहाँले नै आफ्नी स्त्री पार्वती मलाई दिए्र पठाउनुभयो र यिनलाई बोकी आफ्नो देश लङ्कातिर जाँदैछु ।” रावणका यी कुरा सुनी मोहिनी रुपी श्री विष्णुले भन्नुभयो ः–“ हे लङ्काधिपती  दशग्रीव रावण ! के यिनैलाई तिमीले पार्वती ठानी ल्यायौ ? यत्रो लङ्केस भएर पनि तिमीलाई लाज लाग्दैन ? श्री महादेवका मायाद्वारा रचिएकी नारीलाई तिमीजस्तो पराक्रमी राजाले वुइमा बोकेर हिँडेको कसैले देखे भने के भन्लान् ? लौ यी ता पार्वती होइनन् । महादेवले तिमीलाई छल्नु छलेछन् । तिमीलाई साँच्चिक्कै पार्वती नै मागेर लैजाने इच्छा छ भने पार्वती पाइने ठाउँ समेत मलाई थाहा छ । सो बताउँछु सुन ‘श्री महादेवको आसन गरिराखेको बाघको छालाभित्र सााच्चिक्कै पार्वतीलाई लुकाएर राखेका छन् ।’ तिनैलाई मागेर लैजाऊ ।”मोहिनी रुपी श्री विष्णुले भनेका यस्ता अनेक कुरा सुनी रावणले पत्यायो र पार्वतीलाई त्यहीँ छोडेर आफू फर्की फेरि गोकर्णमा गयो ।
यता श्री विष्णुले आफ्नो मोहिनी रुप त्यागी श्री पार्वतीलाई वैकुण्ठमा पुर्याई अनेकौं भक्तिभावपूर्वक पूजा गरिराख्नुभयो । उता रावण भने श्री महादेवलाई गाँजा , भाङ्ग , धतुरो लागेर अचेत भई रहेकै बेलामा पुगेर विन्ती गर्न लाग्यो ः–“ हे ईश्वर ! हजूरले ता मलाई मायाकी पार्वती पो दिइबक्सिएछ । मैले बाटामा जाँदै गर्दा थाहा पाएँ र त्यहीँ छोडिदिएँ । मलाई दिइबक्सिनुहुन्छ भने हजूरका आसनमुनी बाघका छालाभित्र लुकाइ राखेका पार्वती दिइबक्सियोस् ।” रावणका यी कुरा सुनी ध्यानदृष्टिले बिचार गरी हेर्दा श्री विष्णुबाट भएको सबै कार्य र विष्णुले पार्वतीलाई वैकुण्ठमा लगेको थाहा पाई आफ्ना मायाद्वारा वाघका छालाभित्र अर्की एउटी नारी सृष्टि गर्नुभयो र त्यहाँबाट निकाली “लौ लैजा” भनी रावणका जिम्मा दिनुभयो । रावण पनि अति हर्षित हुँदै श्री महादेवले आसन मुनीबाट निकालेर दिएकी मायाकी पार्वतीलाई काँधमा बोकी लङ्कातिर लाग्यो । त्यसपछि श्री विष्णुले पार्वतीलाई लिएर श्री महादेवका काखमा पुर्याई बैकुण्ठमा फर्किनुभयो ।
श्री महादेव पनि एकदिन पार्वतीसित सल्लाह गरी मानसरोवरमा गई राजहंश भएर जलक्रिडा गरिहनुभएको थियो । त्यसै समयमा अन्तपुर नाम भएका नगरमा बसेका जालन्धर आफ्नी स्त्री बृन्दासित हाँस , ख्याल र ठट्टा गर्दै  साह्रै खुशी भएर हाँसिरहेका थिए । बृन्दा अत्यन्त पतिव्रता थिइन् । आफ्ना पतिलाई त्यसरी हाँसेको देखेर उनीले “ हे स्वामी !  किन हाँस्नुभयो ? ” भनी विन्ती गरिन् । यो सुनी जालन्धरले भन्यो ः–“ हे प्रिये ! हाँसेको कारण के भने , तिमी जस्ती राम्री स्वास्नी हुने म बाहेक अरु को होला ? यो सम्झेर म हाँसेको हुँ ।” यो सुनी बृन्दाले भनिन् ः–“ हे स्वामी ! स्वास्नी राम्री छे भन्दैमा हाँस्नु उचित होइन । यसको परिणाम राम्रो हुँदैन । राम्री कै कुरा गर्नुहुन्छ भने महादेवकी स्त्री पार्वतीलाई देखे कसो गर्नुहुन्छ होला ? ती मभन्दा कता हो कता राम्री छिन् ।” यो कुरा सुनेर “ हे प्रिये ! तिमीले भनेको साँँच्चिकै हो भने म ती पार्वतीलाई छल गर्न जान्छु ।” भनी मायाद्वारा श्री महादेवको रुप लिई जालन्धर कैलाशमा जाँदा भए ।
मानसरोवरबाट  जलक्रिडा गरी तृप्त हुनुभएका  श्री महादेव आइपुग्नु भयो भन्ठानी पार्वतीले हत्तपत्त गरी सुनको कमण्डलु लिएर गोडा धोइदिनका निम्ति ढोकामा आउनुभयो । उनको सुन्दरता देख्नासाथ महादेवको रुप धारण गरी गएका जालन्धर भुइँमा लडेर मूर्छा भए । यो देखेर पार्वतीले के उदेक भयो भनी ध्यानदृष्टिले हेर्दा भएभरको रहस्य बुझ्नुभयो । त्यसपछि नन्दी भृङ्गी अदि द्वारपाललाई “ अब यहाँ कोही आएछ भने भित्र जान नदिनु ।” भनी आफू एकान्त ठाउँमा गई लुकेर श्री विष्णुको आराधना गर्न लाग्नुभयो । यसप्रकारको आराधना गरेको थाहापाई चारहातमा शंख, चक्र , गदा , पद्य धारण गर्नुभएका गरुड वाहन भगवान विष्णु तत्काल नै हावाभन्दा पनि चाँडो गरी ध्यानमा रहेकी पार्वती छेउ पुगेर “ हे पार्वती ! मेरो किन आराधना गर्न लाग्नुभयो ?” भनी सुध्याउनुभयो । विष्णुको प्रश्न सुनी पार्वतीले भन्नुभयो ः–“ हे लक्ष्मीपते ! यसबखतमा भने श्री महादेव मानसरोवरमा गएर राजहंश भई जलक्रिडा गरेर आनन्द मग्न हुनुहुन्छ । यो अवसर छोपी जालन्धरले मलाई छल्न भनी श्री महादेवको भेष लिई आएछ ।”
जगत्माता पार्वतीबाट सम्पूर्ण वृत्तान्त सुनिसकेपछि क्रोधित भएका श्री विष्णुले भन्नुभयो ः–“ हे पार्वती माता ! दुष्ट जालन्धरले तपाईंप्रति त्यस्तो दुव्र्यवहार चिताई छल गर्न आएछ । अब म पनि गएर त्यसकी स्त्री बृन्दाको सत्यलाई निश्चय नै डगाई आउँछु । श्री महादेवजीको समेत खोजी गरी वहाँ पठाइदिन्छु । ” यति भनी श्री पार्वतीसित विदा भई श्री विष्णु गरुडमा सवार भएर बडो वेगसित मानसरोवर जानुभयो ।
आगौं कथा अर्को अध्यायमा ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
श्री विष्णु मानसरोवर गमन नाम षोदशोेअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!


ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
         गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
        यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
        बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
        नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

No comments:

Post a Comment