श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
चतुर्दशो अध्याय :– श्री गौरीशङ्कर कैलाश प्रवेश वर्णन
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
त्यसपछि श्री पार्वतीजीले श्री स्वस्थानी परेमेश्वरीका प्रसादहरु एकशय आठ — एकशय आठका (थालीहरु) , पात्रहरुबाट आठ रोटी , आठ अक्षता , आठ बेलीपुष्प , आठ पान , आठ कुड्का सुपारी सगुन समेत ल्याई “ हे स्वामी ! अब मेरो तपस्या र व्रत पूर्ण भयो । मैले सानै उमेरदेखि नै हजूरलाई स्वामी पाऊँ भनी दृढ सङ्कल्प लिएकी थिएँ । सो आज मैले पाउन सकेँ । ” भनी श्री महादेवका हातमा प्रसाद चढाई शाष्टाङ्ग दण्डवत प्रणाम गरेर फेरि भनिन् ः– “हे आदि पुरुष ! श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले मेरो मनोकामना सिद्ध भगो । मैले हजूरलाई स्वामी पाएँ । हे प्रभु ! यो व्रम्हाण्डभित्रका कोही दुःखी छन् । कोही दरिद्री छन् , कोही पापी छन् , कोही निःसन्तान छन् , कोही विनास्त्रीका छन् त कोहि विनापुरुषका छन् । यसरी धेरैले दुःख पाएका छन् । यसकारण तिनको उद्दारका निम्ति श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रकाश गरिदिन पाए लोकको उद्धार हुने थियो भन्ने मलाई लागेको छ । यो कसो गर्दा होला ? मलाई उपाय गरिबक्सियोस् ।”
पार्वतीका यस्ता दयाले भरिएका वचन सुनी श्री महादेवजीबाट आज्ञा भयो ः–“ हे पार्वती ! तिमीले दुःखी दरिद्रीमाथि दया गरी तिनका दुःख हरण गर्ने जुन उपाय सोध्यौ त्यो बताउँछु । तिमीले अहिले नै अश्वत्थामा ऋषिलाई डाकेर रसाताल , पातालमा पठाऊ । वहाँ गएर उनले सो व्रत प्रकाश गरिदिने छन् । श्री महादेवबाट यो आज्ञा भएपछि पार्वतीले अश्वत्थामा ऋषि डाक्न पठाउनुभयो । केही पछि अश्वत्थामा ऋषि आइपुगेर श्री उमामहेश्वरलाई शाष्टाङ्ग प्रणाम गरेर आफूलाई डाक्न पठाएको कुराको कारण जान्न निवेदन गरे । खुशी भएकी पार्वतीले अश्वत्थामा ऋषिलाई भन्नुभयो ः–“ हे अश्वत्थामा ऋषे ! तपाईंलाई किन डाक्न पठाएकी भने , तपाईं अब रसातल , पातालमा जानुहोस् । वहाँ गएर तपाईंले पातालमा जो दुःखी , दरिद्री , पापी , स्त्री नहुने , पुरुष नहुने , सन्तति नहुने र अरु कतिकति कुराले दुःखसन्ताप भोगिरहेकाहरुलाई देख्न्ुहन्छ ती सबैलाई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न सिकाउनुहोस् । जसका प्रभावले गर्दा त्यस्ता ती सबैका उद्धार होस् ।” यति भनिसकेपछि श्री पार्वतीजीले अश्वत्थामा ऋषिलाई श्री विष्णुजीले बताउनुभएको सम्पूर्ण व्रतविधिहरु सबै सविस्तार वताउनुभयो । तब अश्वत्थामा ऋषि पनि अत्यन्त खुशी हुँदै श्री भवानी शंकरलाई शाष्टाङ्ग प्रणाम गरी विदा लिई रसातल , पातालमा गए । हे अगस्त्य मुनि ! यो कुरा तपाईंलाई अठारौं अध्यायमा अरुपनि बताउँला ।
तहाँ उप्रान्त एकदिन श्री महादेवले पार्वती कत्तिको बठ्याईं गदिैरहिछिन् बुझ्नुपर्यो भनी कसैले नदेख्ने ठाउँमा लुक्नुभयो । पार्वतीले श्री महादेवजीलाई वरपर कतै नदेख्दा चित्त आकुल गरी विलाप गर्न लाग्नुभयो । अनेक ठाउँमा खोजी गर्दै जाँदा एकान्त ठाउँमा लुकिरहन्भएका श्री महादेवजीलाई बल्लतल्ल फेलापार्नुभयो र भन्नुभयो ः– “हे ईश्वर ! तपाईंले मलाई छलेर किन लुक्नु आउनुपर्यो ? के म स्ुन्दरी भइनँ कि ? मन परिन कि ?” भन्ने प्रश्न गर्दै आँसु खसाउन थाल्नुभयो । तब श्री महादेवजीले केही नबोली “ पार्वतीले मलाई अब यसै छोड्ने भइनन् । अब अर्कै रुप लिई वनविहार गर्न जानुपर्यो ” भनी मनमनै बिचार गरी त्यहाँबाट अन्तध्र्यान हुनुभई श्री पशुपतिनाथस्थानको श्लेष्मान्तक वनमा गई , किराँतको रुप लिएर शिकारी झैं हिँड्न लाग्नुभयो । श्री महादेवजीलाई श्री पार्वतीजीले कतै नदेख्दा मनमा ठूलो चिन्ता लिई , मलाई मेरा स्वामीले किन छल्नुभयो ? कहाँ जानुभयो ? भनी मनमा ज्यादै दुःख मानी ध्यानदृष्टिले विचार गरी हेर्दा त श्री महादेवजीले किराँतको रुप धारण गरी श्री पशुपतिनाथस्थानको श्लेष्मान्तक वनमा गई शिकार खेली हिँडेको थाहा पाउनु भयो । अनि श्री पार्वतीजीले पनि ्रश्री महादेवजीलाई छल्नका निम्ति अत्यन्त राम्री किराँतीनीको रुप लिई श्लेष्मान्तक वनमै गई एउटा ठूलो वृक्षको मुनी बसिरहनुभयो ।
केही समय वितेपछि श्री महादेव पनि घुम्दैफिर्दै त्यहाँ आइपुग्नुभयो र किराँतीनी रुपकी पार्वतीलाई देखी मोहित भई सोध्नुभयो ः–“ हे सुन्दरी ! तिमी को हौ ? देवकन्या हौ कि ? यक्षकन्या हौ कि ? नागकन्या हौ कि ? कि तिमी उर्वशी अप्सरा नै हौ कि ? तिमी जस्ती ता यो व्रम्हाण्डभरिमा कोही स्त्री जाति छैनन् होला के ? तिमी झैं सुन्दरी यो संसारभरि हुन दुर्लभ छ ! यस्ती परम सुन्दरी ! त्यसमा पनि तरुनी नारी ! एक्लै यो वनको बीचमा आई किन बस्यौ ? वन्यजन्तु वाघ–हात्तीको कत्तिपनि डर नमानी यस्ता डरलाग्दा ठाउँमा वस्नुको कारण के हो ? मलाई भन ।” किराँतरुपी श्री महादेवजीका यस्ता आज्ञा सुनी “ पक्का पनि मलाई सोध्ने श्री महादेव नै हुन्” भनी किराँतीनी रुप लिएकी श्री पार्वतीजीले मनमनै दण्डवत प्रणाम गर्नुभयो ।
त्यस वखतमा श्री महादेवजीको कस्ता रुप थिए भने , बायाँ हातमा धनु र दायाँ हातमा त्रिशूल लिनुभएका , वाण राख्ने ठोक्रो काँधमा भिर्नुभएका , सर्पको गहना लगाई डरलाग्दा मूर्ति हुनुभएका किराँत रुपका थिए । यस्ता किराँतरुप श्री महादेवलाई देखी श्री पार्वतीले विन्ती गर्नुभयो ः–“ हे किराँत ! म यहाँ तपस्या गरी बसेको छु । यसरी म बसेको धेरै वर्ष भयो । किराँतीनीको जात हुनाले वाघ–हात्ती र अरु कुनै वनचरको मलाई कुनै डर लाग्दैन ।” यस्ता तरहसित दुई स्त्रीपुरुषको आपस्तमा अनेक कुराकानी हुँदै दिन वितेको चालै नपाई तुरुन्तै झमक्क साँझ पर्यो ।
तब किराँतरुपी श्री महादेवजी आज्ञा गर्नुहुन्छ ः–“ हे सुन्दरी ! हामी दुईजना एक्लाएक्लै छौं । यसकारण आज यहीँ वास बसौं । हेर , अब रात पर्न लाग्यो । ” श्री महादेवजीका यस्ता कुरा सुनी श्री पार्वतीजीले भन्नुभयो ः–“ हे किराँत ! तिमीले ता बडो अनौठो बोले झैं लाग्यो किनभने तिमी पुरुषजाति र म स्त्रीजाति परेँ । अनि यस्ता वनका माझमा , कोही अर्को नभएका ठाउँमा कसरी एकै ठाउँमा वास बस्न सकिन्छ ? अर्को कुरा पुरुषजातिको ता उति भर पर्नु पनि ठीक छैन । राम्री स्त्री देखेपछि घरपरिवार सब बिर्सन्छन् । यसर्थ हामी अलगअलग वास बस्नु उचित ठहर्छ ।”
किराँतीनी स्वरुप श्री पार्वतीका कुरा सुनी किराँतरुपी श्री महादेवजीले ः– “हे किराँतीनी ! तिम्रो सोचाइ मैले बुझेँ तर तिमीले त्यस्तो अनर्थ सोच्यौ । त्यो कुरा मेरो पेटमा एक रत्ति पनि छैन । तिमीले कुनै डर नमाने हुन्छ ।” भन्नुभयो र विश्वास दिलाउनुभयो । अनि दुबै किराँत किराँतीनी रुप लिएका श्री महादेवपार्वती कुनै एक वृक्षका मुनी बास बसे । आजभोलि गर्दै त्यहाँ बसेको पनि निक्कै दिन वितिसकेपछि एकदिन श्री पार्वतीजीले मनमा “ सधैं यसै रहेर कत्ति निर्वाह गर्नु ? यी भोलेनाथ ता यत्तिक्कै बसेर पनि टार्न सक्छन् । म ता स्त्री जाति हुँ । मैले ता घरव्यवहारपट्टिको पनि चासो लिनुपर्छ । अरु कुनै उपाय त सोच्नैपर्यो” भन्ने विचार गर्नुभयो अनि श्री महादेवजीलाई छलेर एकातिर जानुभयो र आकाशवाणी भए झैं गरी बोल्न लाग्नुभयो ः– “ हे ईश्वर ! हजूरले हामीलाई विर्सिनुभएर यसरी वनविहार मात्र गरिरहनाले हामी व्रम्हा, विष्णु इन्द्रदिहरुको दुःखकष्ट कसले टारिदेला ? हे करुणामय ! हे वृषवाहन ! अब कैलाशको याद भए हाम्रो उद्धार हुँदो हो । प्रभु ! हामीले धेरै दुःख पायौं । हजूरबाट हाम्रो रक्षा होस् ।”
यसप्रकारको आकाशवाणी सुनेपछि श्री महादेवजीले विचार गर्नुभयो । “म यहाँ आएर वनविहार गरेको ता कसैले देखेको थिएन । यो आकाशवाणी जस्तो बोल्ने को रहेछ ? सायद देवताहरुले नै पो बोलेका हुन् कि ? ” भनी वरिपरि हेर्दा कोही देख्नुभएन र चूपै रही किराँतीनी रुपकी पार्वतीलाई नदेखी जताततै खोज्न लाग्नुभयो । त्यत्तिक्कैबेला श्री पार्वतीजी पनि केही थाहानपाए झैं गरी रुखका हाँगामा बसी फल टिपी खान लाग्नुभयो । श्री महादेवजीले खोज्दाखोज्दै भेट्नुभयो र “हे सुन्दरी ! तिमी कहाँ गयौ ? तिमीलाई मैले कत्ति ठाउँ खोजिसकेँ तर भेट्न नसकेर म ता व्याकुल भैसकेको थिएँ ।” भन्नुभयो । यो सुनी किराँतीनी रुपी श्री पार्वतीजीले “ हे किराँत ! म कहाँ त्यत्ति टाढा गएकी थिएँ र ? भोक लाग्यो र कन्दमूल , फलफुल खान यता आएकी थिएँ ।” भन्नुभयो । यस्ता प्रकारका कुराकानी गरिरहँदा र पूर्णिमाको चन्द्रमाभन्दा पनि राम्री पार्वतीलाई देख्दा श्री महादेवको मनोवेग भङ्ग भै किराँतीनी रुपकी श्री पार्वतीजीलाई समाउन जाई लाग्नुभयो ।
यो देखेर किराँतीनी रुपकी श्री पार्वतीजीले डराएझैं गरी भन्नुभयो ः–“ हे किराँत ! के तिम्रो धर्म यही हो ? मैले ता श्री महादेव प्रभु बाहेक अरु श्रीमान बनाउने छैन भनी प्रतिज्ञा गरेकी छु । तिमीबाट अन्यथा भए म तिमीलाई श्राप दिई मर्नेछु । म ठूलो विश्वासमा थिएँ तर तिमी यस्ता रहेछौ ।” तब किराँतरुपी श्री महादेवजीले भन्नुभयो ः–“ तिम्रो त्यस्तो प्रतिज्ञा छ भने मलाई उनै महादेव भनी जान । वनविहारका इच्छाले यहाँ किराँतरुप भई आएको हुँ । नपत्याए मेरो असली रुप हेर । ” यत्ति भनी श्री महादेवजीले आफ्नो ज्यातिस्वरुपको दर्शन दिनुभयो ।
त्यसपछि किराँतीनी रुपकी पार्वतीले हर्ष मानी श्री महादेवका पाउमा शाष्टाङ्ग दण्डवत प्रणम गरी विन्ती गर्नुलाग्नुभयो ः–“ हे ईश्वर ! हजूर साक्षात श्री महादेव नै होइबक्सनुहँदो रहेछ । अब कन्यादान लिन मेरा बाबाआमा भएका ठाउँमा आउनुहोस् । ” भनी श्री महादेवजीलाई लिई श्री पार्वतीजी आफ्ना बाबा हिमालयका घरमा श्री महादेवजीलाई लैजानुभयो । वहाँ पुग्दा श्री महादेवजीले श्री पार्वतीजीको असली रुप देखेर आश्चर्य मान्नुभयो । सबै कुरा बुझिसकेपछि लाजले के गरुँ र कसो गरुँ हुँदै अन्तध्र्यान हुनुभई श्री महादेवजी फेरि श्री पशुपतिस्थानको श्लेष्मान्तक वनको उत्तर भागमा गई किराँतेश्वर शिवलिङ्ग भई रहनुभयो ।
श्री महादेवजी अन्तध्र्यान भइसकेपछि श्री पार्वतीजीले श्री महादेवजीलाई नदेख्दा अत्यन्त विलाप गरी ध्यानदृष्टिले हेर्नुभयो अनि श्लेष्मान्तक वनको उत्तर भागमा किरँतेश्वर शिवलिङ्ग भई रहनुभएको चालपाउनु भयो । अनि आफू पनि सोही ठाउँमा जानुभयो र पशुपतिस्थानको किनारको पवित्र वागमती नदीमा नित्य स्नान गरी किराँतेश्वर शिवलिङ्गमा जल र अरु जुटेका सामग्रीहरु धूप , दीप , नैवद्य , खनेकौं मेवा मिष्ठान्न आदि चढाई पूजा गरी श्री महादेवजीको ध्यान गरी तपस्या गर्न लाग्नुभयो । किराँतेश्वर शिवलिङ्गको नित्य सेवा गरी पवित्र वागमती नदीमा स्नान गरी किनारमा बसी तपस्या गरेको ठाउँको नाउँ गौरीघाट भयो । जुन पवित्रस्थल गौरीघाटमा गएर कुनैपनि नरनारीले पवित्र वागमती नदीमा स्नान गरी किराँतेश्वर शिवलिङ्गको दर्शन गर्ला , जल अर्पण गर्ला तिनका सबै दुःखकष्ट नाश भइजाला र यो लोकमा अतुल ऐश्वर्य सुख प्राप्त गरी अन्त्यमा कैलाशवास होला ।
हे अगस्त्य मुनि ! पवित्र वागमती नदी किनारमा श्री पार्वतीले नित्य , स्नान , ध्यान , पूजा र तपस्या गरेको देखी श्री किराँतेश्वर महादेवजीले प्रशन्न भएर आफ्ना कर्पुर झैं गौर वर्णको स्वरुप लिई प्रकट भई श्री पार्वतीजीलाई दर्शन दिनुभयो । जगत्माता श्री पार्वतीजीले आफ्ना आराध्यदेवको दर्शन पाएर पाउमा परी अञ्जली बाँधी हर्षाश्रु बहाउँदै बिन्ती गर्नलाग्नुभयो ः–“ हे करुणाकर ! मलाई हजूरले किन यस प्रकारले दुःखकष्ट दिइरहनुभएको ? के हजूरलाई म मन परिन कि ? किन मलाई छोडेर एकान्त यो श्लेष्मान्तक वनको स्थलमा आई बसिबक्सनुभएको ?” यसरी श्री पार्वतीजीले विस्मात मानेको देखी श्री महादेवजी अत्यन्तै खुशी हुँदै श्री पार्वतीजीलाई अङ्कमाल गरी काखमा राखेर त्यहाँबाट अन्तध्र्यान भई हिमालयपर्वतराजका घरतर्फ लाग्नुभयो ।
श्री महादेवजी र पार्वतीजी घरमा आएको देखी हिमालयपर्वत अत्यन्तै खुशी भई छोरी ज्वाईंमा नाना सुगन्धले युक्त पुष्पवृष्टि गराउनुभयो । त्यसपछि उच्च आसनमा बसाली पाद्य , अद्य आदि चढाई चौरासी व्यञ्जन आदि तयार गरी भोजन गराउनुभयो । ससुरालीमा चारदिन जति बस्नुभइसकेपछि श्री महादेवजीबाट श्री पार्वतीजीमा आज्ञा भयो ः–“हे गिरिराज पुत्री ! कैलाश छोडेको पनि धेरै भयो । यहाँ बसी काम छैन । अब कैलाशमा जानुपर्छ । तिम्रा बाबााआमासित विदा मागौं ।” यसपछि दुबैजना हिमालयराज छेउ पुगे अनि श्री महादेवजीले निवेदन गर्नुभयो ः–“ हे पिता ! जुन दिन सतीदेवीले देहत्याग गरिथिन् त्यो दिनदेखि कैलाश शून्य छ । अब हजूरबाट आज्ञा भए पार्वतीलाई साथ लिई कैलाश जाने थिएँ । ”
श्री महादेवजीले आफूलाई ‘हे पिता !’ भनेको सुनी अत्यन्तै खुशी र हर्षले गद्गद् भएका हिमालयराजले अत्यन्तै विनम्र हुँदै हात जोडी विन्ती गरे ः–“ हे त्रैलोक्यनाथ ! हे चराचरपते ! हजूरले अज्ञानीले जस्तो गरी मलाई मोहले छोपी ‘हे पिता !’ भन्नुभएकाले मेरा सम्पूर्ण विकार नष्ट हुन गए । हे प्रभु ! अब ममाथि दया गरी मेरा सम्पूर्ण अज्ञान नाश गरिबक्सियोस् । मेरा अभिमन पनि नष्ट गरिदिइबक्सियोस् । हजूरका भक्तिमा मेरो चित्त सधैं लागिरहोस् ।” यत्ति भनिसकेपछि श्री महादेवजी र श्री पार्वतीजीलाई नानाथरीका वस्त्रालङ्कार र गरगहना पहिर्याई , सिँहासनमा बसाली , षोडषोपचारले पूजा गरी नानाथरीका मेवा मिष्ठान्नादि नैवद्य चढाउनु भयो ।
अनि स्तुति गर्नलाग्नुभयो ः–“ हे भवानी शंकर ! जसरी श्री लक्ष्मीनारायण समुन्द्रका घरमा गएर बसिदिनुहँदा समुन्द्रले आनन्द महसुस गर्नुभएको थियो त्यसैगरी छोरी सहित भएर हजूरले मेरा घरमा राज गरिदिनाले म आनन्दमा रमेँ । हे जगदीश्वर ! हजूरको महिमा अपरम्पार छ । हजूरका मायाले नै यो विश्वव्रम्हाण्ड व्याप्त छ । जतिबेला देव–दानव मिली समुन्द्र मन्थन गरेका बेला कालकूट विष निस्क्यो र संसार नै डढाउन लाग्यो । त्यो देखेर हजूरले नै त्यो उग्र विष आफ्नो घाँटीमा राखी सबैको रक्षा गरिबक्सनुभयो । त्यसरी हजूरको नाम नीलकण्ठ पनि रहन गयो । हे विश्वम्भर ! आफैले सृष्टि र स्थिति गरी आफूले नै संहार पनि गर्ने , यस्ता हजूरलाई कोटीकोटी प्रणाम छ । हे परव्रम्ह ! पृथ्वीलाई रथ , चारवेदलाई घोडा , चन्द्रसूर्यलाई रथका पाङ्ग्रा , व्रम्हालाई सारथी , सुमेरु पर्वतलाई धनुष , शेषनागलाई धनुको ताँदो , विष्णुलाई वाणको चुच्चो बनाई त्रिपुरासुर दैत्यको नाश गर्ने । हे शम्भो ! हजूरलाई कोटीकोटी नमस्कार छ । हे युगेश्वर ! व्रम्हा भन्नु , स्थावर भन्नु , जङ्गम भन्नु , त्यसमा पनि यम भन्नु , नारायण भन्नु सबै हजूर नै होइबक्सनुहुन्छ । फेरि सत्व–रज–तम त्रीगुण भन्नु , मृत्यु भन्नु , कालका पनि काल भन्नु , गुणका पनि गुण भन्नु , देवताका पनि देवता भन्नु , अनाथका नाथ भन्नु सबै हजूर नै होइबक्सनुहुन्छ । यसैगरी विश्वरुप मूर्ति भन्नु , आदि–मध्य–अन्त्य नभएका भन्नु , अष्टवसु भन्नु , द्वादश आदित्य भन्नु , दिक्पाल भन्नु पनि सबै हजूर नै होइबक्सनुहुन्छ । हे वृषभध्वज ! हजूरका महिमाको वर्णन गर्न चतुर्मुख व्रम्हा भए , सरस्वती भए , हजार जिव्रा भएका शेषनाग भए , यिनको पनि सामथ्र्य पुग्दैन भने मेरो कसरी पुग्ला ? ”
यस्ता तरहसित हिमालयराजले स्तुती गरेको देखी श्री महादेवजी सन्तुष्ट हुनुभई प्रशन्न मुद्रा लिई भन्न लाग्नुभयो ः– “ हे पर्वतराज ! तपाईंले गरेका सेवा र भक्ति देखी म सन्तुष्ट भएँ । आफ्नो चित्तलाई सदा मेरो भक्तिमा लगाई कैलाश पद प्राप्त हुनेछ । अब हामी आफ्ना बाटो लाग्छौं । बिदा पाऊँ । ” यत्ति भनी हिमालयपर्वत र मेनकासित विदा लिई श्री महादेवजी बृष वाहनमा चढ्नुभयो र श्री पार्वतीजीलाई आफ्ना काखमा राखी सुस्तसुस्त कैलाशमा पुग्नुभयो र वहाँ प्र्रमथगणका साथमा आनन्दले राज गर्नुभयो ।
आगौं कथा अर्को अध्यायमा ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
श्री गौरीशङ्कर कैलाश प्रवेश वर्णन नाम चतुर्दशोेअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!
No comments:
Post a Comment