ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ; ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
एकादशो अध्याय :– ज्योतिर्लिङ्गोत्त्पत्ति वर्णन
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि
तहाँ उप्रान्त सतीदेवीको सम्पूर्ण अङ्गहरु पतन भैसकेपछि चित्त व्याकुल भएका श्री महादेवजी हा सती ! हा सती !! भनी भूमिमा पछारिई मूर्छित हुनुभयो । केही छिनपछि मूर्छाबाट बिउँझिनु भयो । फेरि मनले सतीदेवीलाई सम्झी लामो सुस्केरा हाली बौलाहा झैं भएर जहीँतहीँ फिर्न लाग्नुभयो । त्यसप्रकारले हिँडेका श्री महादेवलाई देखी तारकासुर दैत्यले आफ्ना मन्त्रीहरुसित भन्यो ः–“हे मन्त्रीगण ! सतीदेवीका वियोगले श्री महादेव बौलाहा जस्ता भएर जहीँतहीँ घुमी हिँड्दैछन् । यही हो मौका ! देवताहरुसित युद्ध गरौं अनि इन्द्रको अमरावती आफ्ना अधिनमा पारौं ।” यस्तो सल्लाह अनुरसार ती दैत्यहरुले आफ्ना जेजति भएका हात्ती , घोडा सहित सेनाहरु अघि लगाई अमरावतीमा हमला गर्न गए । दैत्यहरुको दाउपेच बुझेर डराएका स्वर्गका राजा इन्द्रले देवताहरुसित भने ः–“ हे देवगणहरु ! हामी अब यहाँ धेरैबेर नबसौं । तारकासुर दैत्यलाई अब हामीहरुले युद्धमा जित्न सक्दैनौं । किनभने उसले श्री महादेवजीबाट वरदान पाएको छ ।” इन्द्रको सल्लाह पाइसकेपछि देवगणहरु सबै स्वर्गबाट भागेर पशुपतिस्थानको मृगस्थलीमा आई बस्दा भए । उता तारकासुर दैत्य तथा उसका गणहरुले देवताहरु भागिसकेपछि इन्द्राणि सहित अमरावती कब्जा गरी स्वर्ग, मत्र्य तथा पाताल तीनै लोकको राज्य उपभोग गरिरहँदा भए ।
केही समयपछि श्री महादेवजी यताउती पृथ्वी भ्रमण गर्दै जाँदा मृगस्थलीमा आइपुग्नुभयो । सम्पूर्ण देवगणहरुले श्री महादेवजीलाई देखी शाष्टाङ्ग दण्डवत प्रणाम गरी भने ः– हे सर्वेश्वर ! हजूरको साथ अब सतीदेवी छैनन् । स्वयम् नजर गरिबक्सियोस् प्रभु ! तारकासुर दैत्यले हजूरबाट पाएका वरदानका प्रभावले हाम्रो इन्द्राणि सहित अमरावती लियो । हामीमाथि अन्याय भयो । हामी इन्द्रादि देवताहरु सबै यहाँ आई लुकी बसेका छौं । हामीमाथि उपकार गरी पापिष्ठ तारकासुर दैत्यको नाश गरी हाम्रो रक्षा गरिबक्सियोस् ।”
इन्द्रादि देवताहरुको यस्तो बिन्ती सुन्नुभएपछि अलिअलि होश आएको जस्तो गरी श्री महादेवजीले आँखा उघारी हेर्नुभयो । तर इन्द्रदि देवताहरु देखेता पनि केही पनि नभनी फेरि वास्तै नगरी केवल सतीदेवीलाई ने सम्झी विरह वेदनामा हा सती ! हा सती !! भन्दै बलिन्द्रधारा आँसु झार्दै त्यहाँबाट पनि कसैलाई वास्तै नगरी सरासर जानुभयो । यसरी सम्पूर्ण जगतका स्वामी श्री महादेवजीले गम्भीर शोक गरेको देखी यावत् जीवात्माहरु जति छन् कसैले पनि सहन गर्न सकेनन् । ती सबैलाई शोकले घे¥यो । यसरी श्री महादेवजीले अत्यन्तै शोक गरी एकसय वर्षसम्म पृथ्वीमा भ्रमण गरिरहनुभयो । श्री महादेवजीले एकदिन चित्तलाई धैर्य गरी “अब शोक गर्नु व्यर्थ छ तर बाचुँ त कसका लागि बाँचुँ ” भन्दै आफ्नो साथ सतीदेवीको शरीर नभएको महसूस गरी “अब कसो गरुँ ? कहाँ जाऊँ ?” भन्ने छटपटी गरिरहनुभयो । अनि मनलाई भरसक धैर्य राखी उत्तरापन्थमा ध्यान गर्ने भनेर जानुभयो ।
हे अगस्त्य मुनि ! त्यसबेला श्री महादेवजीमा पूर्ण धैर्यता नभएको हुँदा भट्किएर उत्तरको मार्गमा जानुपर्नेमा दक्षिणतिर जानुभयो । अनि व्रम्हपुर नामको एउटा गाउँमा पुग्नुभयो । त्यहाँका ऋषिहरु जम्मै त्यसबेला गङ्गामा स्नान गर्न गइरहेका थिए । श्री महादेवजी पनि त्यतैबाट भएर जाँदै गर्नुभएको देखी ऋषिपत्नीहरुले भन्न थाले ः–“हेर दिदीबहिनीहरु हो ! ती जाँदै गरेका श्री महादेवजी हुन् । सम्पूर्ण जगतका मालिक भएर पनि सतीदेवी मरेकीले बौलाहा जस्ता भएर यस्ता हालतका भएका छन् । हाम्रा पतिहरु एकभक्त भएकाले दुब्ला पातला छन् । उनीहरुलाई विषयवासनाको केही मतलबै छैन । त्यसैले उनीहरुले हामीहरुलाई सन्तोष गराउन सकेका छैनन् । त्यसकारण अब हामी यिनै कै साथ हिँडौं ।” भनी हाँस्दै दगुर्दै पछि लाग्न थाले ।
गङ्गाजीमा स्नान गर्न गएका ऋषिहरुले यस कुरालाई थाहापाएर उनीहरुलाई बाटामा भेट्टिएपछि ऋषिहरुले श्री महादेवजीलाई भने ः– हे महादेव ! तपाईंले यो के गर्नु भएको ? यसरी हाम्रा पत्नीहरु हरण गरी ल्याउने हो ?” ऋषिहरुको यस्तो वचन सुनी आश्चर्य मान्दै श्री महादेवजीले भन्नुभयो ः–“ हे ऋिषिश्वरहरु हो ! तपाईंहरुका पत्नीहरुलाई म किन हरण गर्थें ?” यो सुनी ऋषिहरुले भने ः– “ त्यसो भए तपाईंका पछि लाग्नेहरु को हुन् त लौ हेनुहोस् त ? ” तब श्री महादेवजीले हेर्दा “त साँच्चिक्कै हो रहेछ । लौ मैले ल्याएको त होइन तर किन आए त यिनीहरु लौ ? म जान्दिन । ” तब ऋषिहरुले भने ः–“ हे महादेव ! तपाईंको गुप्तअङ्ग देखेर हाम्रा पत्नीहरु पछि लागेका हुन् । यसकारण तपाईंको त्यो गुप्तअङ्ग पतन भइजाओस् । ” भनी श्राप दिए ।
उक्त श्रापबाट श्री महादेवको गुप्तअङ्ग पतन भयो । अनि सो लिङ्ग ज्योतिर्लिङ्गको रुप भएर ठूलोठूलो भएर ज्यातिर्मय हुँदै विश्वव्रम्हाण्ड नै छोप्दै जान थाले । यो देखी देवता , ऋषि , यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग आदि सबै हाहाकार गरी भाग्न थाले अनि तत्कालै भगवान विष्णुका शरणमा गई श्री महादेवजीको ज्योतिर्लिङ्गले छोप्न नदिई सम्पूर्ण व्रम्हाण्डको रक्षा गर्न अनेकौं स्तुति र प्रार्थना अनि विन्तीभाउ गरे । यो निवेदन सुनी भगवान विष्णु तत्काल उठेर ज्यातिर्लिङ्गको उत्पत्ति स्थानमा पुग्नुभयो अनि उक्त लिङ्गलाई जसै अङ्गालो हाल्नुभयो तत्कालै लिङ्ग शान्त भयो । त्यो देखी व्रम्हादि देवता , यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग आदिले धन्यधन्य श्री विष्णु ! भनी अनेकौं स्तुति र प्रार्थना गरी आ–आफ्ना स्थानमा ढुक्क भई गए ।
तहाँ उप्रान्त उक्त शान्त भएको ज्यातिर्लिङ्गबाट श्री महादेवजी प्रकट हुनुभई व्रम्हपुरमा भएका ऋषिहरुलाई “ हे ऋषिगण हो ! मैले अपराध नगरिकन नै तिमीहरुले मलाई व्यर्थैमा श्राप दियौ । त्यसैले अब उप्रान्त तिमीहरुको वाक्य अशुद्ध होस् अनि तिमीहरुका व्राम्हणीहरु पनि एक पुरुष भनी बस्न नसकुन् ।” भनी श्राप दिनुभयो ।
त्यसपछि मात्रै श्री महादेवजी उत्तरापन्थमा गई काम , क्रोध , लोभ , मोह त्यागी सम्पूर्ण इन्द्रिय बाँधी त्रिनेत्रलाई परव्रम्हमा मिलाई तपस्यामा लीन हुनुभयो ।
आगौं कथा अर्को अध्यायमा ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
ज्योतिर्लिङ्गोत्पत्ति नाम एकादशाोअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
No comments:
Post a Comment